‘बील गेट्सको डिभोर्स भएछ नि यार !’

किरण पौड्याल
आफै सम्झन्छु,‘म गरिब कि धनी ?’ केही मित्र भन्छन्,‘तँ त काम गर्छन्, अलिलि कमाउँछस् नि हाम्रो त खोइ र…?’खुइय सास फेर्छन् । अनि तिनैको अनुहार हेरर विचार गर्छु । ‘मैले पनि गरेको के छु र ।’ कमाए त केही कमाए । ‘मासिक सेलरी’,‘केही मित्रु अनि केही शत्रु’ । अरुले भने जस्तो हो पनि, होइन पनि । फेरि सम्झन्छु, ‘कमाएको केलाई भन्नु ?’ सम्पत्तिकै हिसाब गर्दा ‘सुक्को’ छैन । अरु पनि, फगद सीप छ ।
कमाइकै कुरा गर्दा अहिलेको जमानामा खुद नगद मात्रै गनिन्छ भन्ने थाहा छ । यतैपट्टि लाग्न भनेर अनेक आशिर्वाद र धम्की नआएका पनि होइनन् । तर, आफ्नै मनले जे भन्यो त्यही गरियो । यदि सम्पत्ति नै कमाउने भने कसरी कमाउने ? कुनै बेला हेरेको चलचित्रको याद आयो । चलचित्र ‘लुट’ । मुख्य कलाकार हाकु काले (सौगात मल्ल), मूल लुटेरा समूहका नेता । बैंक लुट्ने ‘मास्टर प्लान’ बनाए । सौगातले केही युवालाई योजना सुनाए । लुट्ने दिन फरक भयो ।
जुन समयमा लुट्ने योजना थियो । त्यो समयमा बैंक पुग्दा लुटिसकेको पाइयो । यो योजना तिनै सौगातको रहेछ । पुराना साथीलाई फसाउने र अरुलाई प्रयोग गरेर करोडपति हुने योजनामा उनी रहेछन् ।
उनको योजना सफल भयो । उनीसहित नयाँ साथीले बैंक लुटे । यसरी ? मान्छेको मन हो कति फरक नि फेरि । यही चलचित्र हाउसफुल भएछ । करोडौ कमाएछ । निर्देशक निश्चल बस्नेतले स्याबासी पाएछन् । मेरो कलिलो दिमागमा अचम्मको फड्का पस्यो । कसरी ? ।
किनकि, चलचित्र नयाँ जनराको रहेछ । चलचित्रको धार नै परिवर्तन गर्यो रे । चलचित्र सकियो । विस्तारै चलचित्रको समीक्षा पनि सकियो । मनमा प्रश्न भने बाँकी नै रहे । ‘आखिर त्यसमा थियो के ?’ ‘जाबो लुट्ने कथा यति सशक्त ?’
चलचित्रमा फरकपना थियो रे । अनि चलचित्रले कमायो रे । लगभग चिक्त बुझ्यो । तर, शंका अर्को जन्म्यो । ‘साँच्चीकै मान्छेले पैसाका लागि त्यसै गर्छ त ?’ उत्तर खोज्न टाढा जानु परेन । दिनानुदिन बैंक लुटिने खबरले प्रसंग सिद्ध भइहाल्यो । अनि अर्को कडा प्रमाण । यही चलचित्रका निर्माता माधव ढुंगेल जेल परे रे । त्यो पनि नक्कली पैसा छापेको आरोपमा । पछि छुटेर उनी निस्किए तर शंका पलायो । मान्छेले अनेक गरेर सम्पत्ति कमाउँदा रहेछन् । दुई नम्बरी व्यवसाय गरेर, छोरीचेली बेचेर, म्यानपावरमा काम गरेर वा घृणित काम गरेर । यो सबैको मुख्य आशय, धनी बन्ने । केवल धनी । यसको मतलब राजीखुसी खाने । सबैभन्दा माथि पर्ने ।
पैसा सबैथोक होइन जस्तै लाग्यो । कुरा चलचित्रकै गरौ । एकचोटी निर्देशक प्रदीप भट्टराईले भनेको कुरा सम्झन्छु,‘पैसा सबैथोक होइन भन्ने देखाउन मैले जात्रा फिल्म बनाए तर पछि चलचित्रले नै पैसा कमाउँदैन कि भनेर सानो डर भएन ।’ यति खेर आएर मेरो पनि दिमागमा घण्टी बज्यो ।
‘होइन पैसा सबैथोक नै रहेछ ।’ हुन त भन्छन्, आफूसँग जे छैन । त्यसकैको बढी खोजी र खाँचो पर्छ । दिनरात जोतिएर काम गर्नेले पनि मिहिनेतअनुसार ज्याला नपाएको देखेको छु । श्रमिकले समेत तोकिएको ज्याला नपाएर आन्दोलन गर्नुपरेको कति सुनियो, सुनियो । आखिर दिनरात त्यही ज्यालाका लागि खटिनु पर्ने अनि त्यही नपाइने । अनि सोचे, ‘मानिस कति प्रकारले पैसा कमाउँछ ?’ यसै सन्दर्भमा सम्झिहाले, चलचित्रकै कुरा । केही महीनाअघि चलचित्र ‘पण्डित बाजेको लौरो’हेर्ने मौका मिल्यो ।
चलचित्रमा वादी समुदायको कथा रहेछ । बदिनीले पैसाका लागि परपुरुषसँग यौनसम्बन्ध राख्नु पर्ने । कहालीलाग्दो तर वास्तविक कथा । वादी समुदायमा श्रीमतीलाई आफ्नै श्रीमानले अरुसँग सम्बन्ध राख्न उच्क्याउँदा रहेछन् । यो कुरा चलचित्रमा मात्रै चित्त बुझेको थिएन । पछि मदन पुरस्कार जित्ने पुस्तक ‘ऐना’मा पनि रहेछ । यो विषयले सोच्न गम्भीर बनायो । यो सम्पत्तिको आशक्ति कि संस्कार । विरक्त लाग्यो । कुरा अरुतिरको थिएन, देशकै थियो । यति मात्र पनि होइन, प्रत्यक्ष भोगेको कथा थियो । आखिर सम्पत्ति कति चाहिन्छ । यतिबेला मलाइ सानो कक्षामा पढेको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ भन्ने कथाको याद आयो । जग्गाकै लागि कुद्दा जग्गा पाएको तर सास नरहेको कथा थियो त्यो ।
‘आखिर पैसा के हो ?’ यतिबेला झट्ट सम्झिने यही रहेछ । हरेक व्यक्तिलाई आवश्यक पर्ने मुख्य साधन होे, पैसा । तर, पैसामा किन यति धेरै मरिमेट्छ मान्छे । मैले नबुझेको कथा हो यो । हरिवंश आचार्यले पैसा बारे गीत गाएछन्, ‘पैसामा के त्यत्रो तागत’ हो आचार्यले भनेको ठिकै हो । पैसा सबैथोक होइन । हामीले नबुझेको कुरा हो ।
हामी जति सम्पत्ति प्यारो ठान्छौ त्यति आफन्त, इष्टमित्र प्रति टाढिँदा रहेछौ । आखिर पैसाकै कारण दाजुभाइकाको झगडा हुन्छ आखिर के कारण । सम्पत्तिकै नाउमा विश्वमा के भएनन् । सबै क्षेत्रमा सम्पत्ति नपाएकै कारण मर्नु र मार्नु परेको छ । एक मनले भन्छ,पैसा सबैथोक हो । तर, पैसा भएर पनि भएको के छ । जीवन सास टाल्न पैसाले कहाँ सक्छ र ? अर्को मनले सोच्यो पैसा केही होइन । तर, कसरी प्रत्येक दिन करिब एक हजार पाँच सयको हाराहारीमा युवा वाहिरिँदा रहेछन् ।
कम्तीमा दिनमा बाहिरबाट तीनदेखि चारवटा शव काठमाडौं ओर्लिदा रहेछन् । अखिर ती प्लेनमा आउने र बाकसमा आउने कोही होइनन् । सम्पत्ति कमाउन गएका मान्छे हुन् । ‘अब सोचौ त । पैसाका लागि मान्छे केके गर्छ ?’ साधारण मान्छेको मात्रै के कुरा गर्नु मुलुककै तुलना गरौ न ।
प्रत्येक बर्ष समाचारमा पढ्ने हेडलाइनमध्ये अनिवार्य हेडलाइन बन्दिन्छ, यस बर्ष नेपालीको टाउकोमा यति ऋण थपियो ?’ ‘बर्षेनी विदेशी ऋणले कज्जिदै नेपाल’, ‘दक्षिण एसियाकै यति औं गरिब देश नेपाल’ । यस्तै पढ्नु पर्छ । प्रत्येक नेपालीको टाउकोमा ४६ हजार ऋण छ (खबरहब अनलाइन,२०७६÷०७७ को तथ्यांक) । आखिर नेपालपछि परेको पनि अरु विषयमा होइन नि । जम्मा सम्पत्ति कम, ऋण बढी भएर न हो । आजभोलि म अचम्ममा पर्छु । पैसा के हो ?
केहीदिनअघि एक साथीले विहानै मलाई फोनमा भन्यो,‘बिल गेट्सको नि डिर्भोस भएछ । यार’ उसले काल्पनिक कुरा गरेको थिएन । समाचार पढेछ । चित्त बुझाउन सकेन, मलाई पोखो जिज्ञासा ।‘सम्पत्ति सबैथोक होइन रहेछ यार । नभए कसरी यस्तो हुन्छ’ मित्र राजधानी बस्दै थियो । उ पनि कमाउनलाई विदेशिने योजनामा थियो । उसलाई सायदै लागेको थियो होला सम्पत्ति सबैथोक हो । तर, विल गेट्र्सको विषयले केही झस्काएछ । यही प्रश्न मैले गरे उत्तर आयो,‘विल गेट्स, विश्वको चौथो धनीमा मात्र पर्छन् अहिले ।’
मैले पाएको उत्तर । यो उत्तर भन्ने अरु कोही थिएन । मेरै भाइ(किशोर) थियो । उसलाई पनि यति बेला लाग्दै थियो कि । ‘सम्पत्ति सबैथोक होइन रहेछ ।’ उ मलाइ सधै भन्थ्यो,‘यसरी पत्रकारिता भनेर नबराल्लिन । सरकारी जागिर खानु पर्छ । चुप । लागेर लोकसेवा पढ् ।’ हामी दुईको यो प्रश्न र उत्तर जम्मा गर्नका लागि मात्र थिए । भाइ उसकै प्रश्न गथ्र्यो ।म निशब्द भएर उत्तर दिन्थे । यति बेला मलाई लाग्यो । पैसा केही चाहिँ हो । जुन बेला म पैसा र सम्पत्तिको विषय सम्झन्छु ।
यो बेला लक्ष्मीप्रसाद देवकोटाको प्रसंग दिमागमा आउँछ । कुनै बेला कार्यक्रममा देवकोटा कोट नलाइ गएका थिए रे । उनी कार्यक्रममा पस्न पाएन छन् । अनि कोट लाएर पुन ः कार्यक्रममा झुल्किएछन् । त्यसपछि कोट लाएको देखेर उनलाई खाने चिज दिइएछ । उनले त्यही कोटमा खाने चिज राखेछन् र भनेछन्,‘यो खानेकुरा मेरा लागि होइन रहेछ । यो कोटका लागि रहेछ । किनकि कोट नलाइ आउँदा पाइएन नि त ।’ देवकोटाको प्रसंग गलत थिएन । तर, तिनै देवकोटा पैसा अभाव भएर कविता बेचेर पैसा लिने गरेका विषय पनि मिथ्या नभए सही नै होलान् ।
समग्रमा, सम्पत्ति भन्ने चीज अजिव हुँदो रहेछ । ‘हुँदा नि डर । नहुँदा नि डर ।’ नबुझ्न सकिने । न खोज्न सकिने । आजकाल नयाँ धारणा केही बनाउदिन । समय र समाजमा चल्छ, त्यही गर्ने हो । आखिर , म पनि त्यही समाजको उपज न हो ।