जेठ, ६ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादललाई डबल झड्का लागेको छ । थापाको आजै एकातिर मन्त्री पद गुम्यो भने अर्कोतिर वाग्मती प्रदेशमा खाली रहेको राष्ट्रियसभाको उप निर्वाचनमा हार वेहोर्नु पर्यो ।
नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की बादल सहित सात मन्त्री एमालेका बसेका थिए । त्यसपछि पछि माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरेपछि उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेपछि बादलको पद गुमेको हो ।
सर्वोच्चको पछिल्लो आदेशपछि मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामाले पद गुमाएका छन् ।
यता, आजै भएको वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी बने । नेकपा एमालेका उम्मेदवार एवं गृहमन्त्री रामबहादुर थापा लाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।
आज मतदान पछि भएको निर्वाचनमा देवकोटा ५०८८ मतभारसहित विजयी भए । बादलले ४०१३ मतभार प्राप्त गरे । नेपाल मजदुर किसान पार्टीका उमेद्वार कृष्ण महर्जनले १३२ मतभार प्राप्त गरे ।
पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्ति अत्यन्त गम्भीर : एमाले
नेकपा (एमाले)ले आज सम्पन्न वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको स्थायी कमिटी बैठकमा उपनिर्वाचनका क्रममा पार्टीकै कतिपय जनप्रतिनिधिले आधिकारिक उम्मेदवार रामबहादुर थापाविरुद्ध प्रचार तथा मतदान गरेको सूचनाका आधारमा त्यस कार्यको समीक्षा गरिएको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको बढ्दो प्रकोप र यसविरुद्ध सरकारले गरिरहेका प्रयासका सम्बन्धमा जानकारी गराएको र बैठकले सरकारका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बैठकले महामारीविरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्न, आवश्यक कानूनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।







