हरदिन शनिबार भएर वितिरहेछ

किरण पौड्याल
केही महिनाअघि कल्पना गरेको थिए–‘नेपालभर जनमत संग्रह गर्ने’ । विषय हो, ‘सात बारमध्ये सबैभन्दा उपयुक्त लाग्ने बार कुन हो ?’, यसको मतपत्र यस्तो हुनेछ, कागजमा सातबारको नाम लेखिने छ । जसमा माथिपट्टि लेखिने छ,‘तपाईंलाई उपयुक्त लाग्ने बारमा राइट (रेजा) लगाउनुहोला ।’ यो सर्वेक्षणमा नेपाली नागरिकसहित नेपालमा पेशा गरेका सबैले मत खसाल्न पाइने छ । यसको मत परिणामको पनि कल्पना गर्दैछु । ‘सबैभन्दा बढी मत शनिबारमा झर्नेछ ।’
यो कुरा तपाईंलाई चित्त बुझेन होला । मैले अघि नै भने यो कल्पना हो । वास्तविक सर्वे त हाम्रो देशमा यस्तो विषयमा हुन असम्भव नै छ । तर, यही विषयलाई गहिरिएर हेर्ने हो भने हाम्रो जीवन लुकेको छ नि । सायदै हाम्रा दिन÷दैनिकी यिनै बारमा अल्झिएका छन् ।

वाल्यकालमा यिनै बार नजान्दा कति सजाय पाइयो/पाइयो । कति पटक नजानेर खाइयो कति पटक डरले । कक्षा उक्लिदै जाँदा बारसम्बन्धी प्रश्न पनि बढ्दै गए । कक्षा एक ताका हप्तामा कति बार हुन्छन् भनेर आउने प्रश्न आउथे । माथिल्ला कक्षामा भिन्न प्रश्न आउन थाले । ‘एक महिना÷एक बर्षमा कति बार हुन्छन् ?’ झन् यस्तो पो त ‘हप्तामा सात बार हुन्छन् भने एक महिनामा कति बार हुन्छन् ?’

कहिले औला भाचियो, कहिले क्याल्कुलेटर थिचियो । उत्तर मजै खालको रहेछ । सुन्दा अचम्म लाग्दो ।‘हप्तामा सात हुन्छ भने महिनामा पनि त्यही सातबार’ सम्झदा पनि उदेक लाग्छ । यो कक्षा १० पढ्दा ताकाको प्रश्न हो । कक्षा ११ (लोकसेवा क्यान्डिडेट) भएपनि बारकै प्रश्न अर्कै खालका आउन थाले ।‘आजको तीन दिनपछि शनिबार हो भने अब भन्नु होस् हिजो के बार थियो ?’ लु हेरौ त, दिमाग खियाउनु पर्ने । कहिले जानियो, कहिले जानिएन । तर, अहिले लाग्छ । बार पनि समय र उमेर अनुसार फरक तवरको बन्दो रहेछ । जसरी एउटै बारको प्रश्न तीन खालको बन्यो, त्यस्तै । तर, मलाई अरुबार भन्दा शनिबार अलि विशेष लाग्छ ।

शनिबारमा मत धेर खस्छ भन्नुको कारण मेरो मत शनिबारमै झर्छ भनेको हो । किनकि, सबैभन्दा बढी मलाई सम्झना आउने बार हो, शनिबार । कहिलेकाहीँ त सोच्छु । ‘शनिबार विदा कसले दिएछ ?’ उत्तर,‘भीम समशेर’ । राणा प्रधानमन्त्री भीम समेशेरको पाला शनिबार विदा दिन थालिएको रहेछ ।

राणाकालीन समय, शनिबार विदा तोकिनुको कारण के थियो होला ? फाट्टफुट्ट मात्र विद्यालय थिए । साह्रै थोरै संख्यामा उद्योग थिए । विदा दिन किन परेछ ? त्यस बेला दरबार र स्थानीयस्तरमा खट्ने कर्मचारीका लागि विदा तोकिएको होला । छवटा बारसम्म काम गर्ने सातौ बार आराम गर्ने । यही सोचेर बनाइयो होला । माथि मैले भनिसकेको छु । शनिबारमा मत खसाल्ने जो मतदाता छन् । मेरो विचारमा ती तीन प्रकारका होलान् । एक, सरकारी कर्मचारी, दुई, विद्यार्थी अनि तीन मजस्ता व्यक्ति ।

विद्यालयको गृहकार्य गर्नुपर्ने, विद्यालयलाई कारागार ठान्ने विद्यार्थीले शनिबार रोज्छन् । अनि सरकारी कार्यालयमा काम गरिरहेको कर्मचारीले पनि रेजा शनिबारमै ठोक्छन् । विद्यालयस्तरमा शनिबारका दिन आनन्द गरी विताउने म जस्ताले पनि शनिबार नै खोज्छन् ।

विद्यालयको बेलाको जीवन पनि फरक खालको थियो । कहिले विद्यालय जान मन नलाग्ने, कहिले जान पाए हुने । कुरा सिधा छ । गृहकार्य कम परेका दिन, साथीभाइसँग घनिष्ठता बढेका दिन र पढाइबाहेक अन्य कार्यक्रम तोकिएका दिन विद्यालय खोजिन्थ्यो । अनि यिनै कुरा विपरीत भएका दिन विद्यालय हाउगुजीमा पथ्र्यो । अहिले पनि पुराना दिनको याद आउँछ ।
एकदिन विद्यालय विछट्टै जान मन लागेको थियो । ममी(आमा)लाई मैले सोधे । ‘म आज स्कुल जाने ?’ ममीले ओठे जवाफ फर्काउनुभयो,‘आज शनसरबार ?’ ‘होइन जाने नि । मलाई शनिबार स्कुल हेर्न मन लागेको छ । ’ मेरो कुरालाई बुझेर ममीले होइन नभई नजाने वनाइदिनुभयो ।
‘शनिबार त स्कुलमा पुलिस आएका हुन्छन् । त्यसैले जानु हुँदैन ।’ अर्को चोटीदेखि फेरि यो प्रश्नमा तागत गरिन । किनकि, स्कुलसँगै हाउगुजी लाग्ने विषय थियो, पुलिस । यसैले दोस्रो प्रश्न गर्ने सामथ्र्य राखिन । समायान्तरमा एकदिन शनिबार नै विद्यालय पुगिएछ । न विद्यालयमा पुलिस थिए, न अरु कोही । फगत, ढप्काइएका ढोकामा, भोटे ताल्चा । घर गएर नभनी नहुने विषय ।

मलाई विद्यालयमा पुलिस नभएकोमा भन्दा पनि ढाटेकोमा पारो तात्यो । घर गएर थर्काइहाल्यो,‘खोइ त थिएनन् त पुलिस ?’ ममीले प्रश्नलाई सहजै सामना गरिहाल्नुभयो,‘ए, अचेल आउन छाडेछन् ?’ म उत्तरको पर्खाइमा थिए । प्रश्न तेर्सिएको थियो । तर, कुरा गर्नु उचित ठानिन । एउटा विषयले आजबाट सार्थकता पायो । ‘शनिबार विदा हुँदो रहेछ तर पुलिस नहुँदा रहेछन् ?’

अब गरौ नयाँ कुरा

भनिन्छ नि इतिहास नै वर्तमानको पर्याय हो । अहिले पनि शनिबार रोचक लाग्छ । सायदै बाल हविज बनेर होला, शनिबार केही खुला भएको महसुस हुन्छ । अहिले मेरो अफिस सातै बार लाग्छ । अहिले मैले सामना गर्नु परेको धेरै प्रश्नमध्येको एक प्रश्न हो ।‘शनिबार पनि लाग्छ र ?’ अनि दिने उत्तर पनि एउटै हुन्छ,‘दैनिक पत्रिका हो सधै लाग्छ ।’ कतिले बुझ्छन्,कतिले बुझ्दैनन् । कसैले बारम्बार प्रश्न गर्छन् । उत्तर नदिइ धरै पाइदैन । कसैले त शनिबारका लागि योजनै बनाएर बस्छन् । यथार्थ बतायो, थर्काउँछन् अनि मन बुझाउँछन् ।

भीम समशेरको नियमको फलो नगर्ने मध्येमा म पर्छु । उनले आम नेपालीलाई नियम मान्न शनिबार विदा लागु गरेको थियो भने मैले यसमा हारे । मलाई भीम समशेरको विषय खासै जरुरत लाग्दैन । अहिले जरुरत लाग्ने चाहिँ भीमकै हो ।तर अर्कै भीम । हाम्रो पत्रिकाले शनिबारको दिन सम्पादकीय लेख्दैन । तर, भीम (चापागाईं) दाई कहिलेकाहीँ ‘आजको सम्पादकीय म लेख्ने’ भन्दै आउनु हुन्छ । कहिलेकाहीँ त सोच्छु किन मन लागेछ बुढालाई ? ,कसैले जिम्मेवारी दिएछ कि ? तर, शनिबार भनेर रमाइलोे गरेको हुँदो रहेछ ।

यस्ता विषय पनि कहिलेकाहीँ रोचक बन्छन् । यसैको सिको सिकेर कतिपटक आफैले पनि अरुको दिमाग फ्राइ गरे ।

कोभिडपछिको शनिबार
अहिले प्राय ः साथीभाइसँग कुरा हुन्छ । कोभिडपछि सरकारले तोकको निषेधाज्ञाले काममा कम मन गएको हुन्छ । विहान फोन गर्यो, फोन उठाएर भन्छन्, ‘काम छैन, यार । भर्खर उठ्दैछु ।’ वेलुका फोन गर्यो, ‘काम छैन, वाहिर निषेधाज्ञा छ, सुते पो त ।’ साथीभाइ वेकामे बनेका छन् । यतिबेला तपाईंलाई लाग्दो हो,‘तैले चाहिँ दुई÷दुई पटक फोन कसरी गर्न भ्याइस् नि ?’ मेरो पनि हालत उही हो ।

कोभिडपछि दैनिकी फेरिएको छ । कहिलेकाहीँ लाग्छ । दैनिक दुई सयको हाराहारीमा नेपाली कोरोनाको कारण मरिरहेका छन् । तर, बाचिरहेका पनि अधिकांश कामविहिन बनेका छन् । समय कटाउने, दिन ढाल्ने बाहेक अरु काम छैन । साँच्चीकै भन्ने हो भने हामीमा चुनौतीभित्र अवसर खोज्ने पराम्परा कम भइरहेको लाग्छ ।

गएको बर्षको कुरा हो । अमेरिकामा महामारीले चापेपछि बाध्यतात्मक वन्दावन्दी थियो । त्यस बेला सातदिनको सेरोफेरोमा एक लाख नागरिक बेरोजगार बनेका थिए । योस्थिति अमेरिकामा मात्र होइन नेपालमा पनि उस्तै रहयो । कोरोनाकै कारण नेपालको अर्थ व्यवस्था पनि ऋणात्मक ध्रुवमा दौडिरहेको छ । बार्षिक सात प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरिएको थियो ।
यसको कारण हो, हामी नागरिक आफ्नो काम प्रति जवाफदेही नहुनु हो । हामी यथास्थितिबादी चिन्तनबाट ग्रस्त हुनु हो । हामी नयाँ अवसरबाट चुक्नु हो । हामी यतिसम्म यथास्थितिबादी छौ कि बालबच्चा पढाउन समेत खोजिरहेका छैनौ ।

भविष्यका कर्णदार मानिने बालबच्चालाई कोरोनाकै कारण बर्षदिन पछि पारिरहेका छौ । विद्यालयस्तरमा समेत पढाउन वैकल्पिक विधि आइरहेका छन् तर हाम्रो सोच यसप्रति गएको छैन । सायदै, कोरोना महामारी केही बर्ष रहने हो भने पनि हामी वैकल्पिक विधि अपनाउन सक्दैनौ । प्रविधिमा फड्को मारेको देशभएपनि यस्ता विकासबादी काममा हामी पछि परिरहेका छौ । हामीले अधिकांश काम कोरोनासँग जुधेर गर्न सक्छौ तर चाहदैनौ । यसको मतलब, हामी हर समय आराम लिन चाहन्छौ । विदा बस्न चाहन्छौ ।

अब फेरि आफ्नै कुरा

कुनै बेला मलाइ शनिबार भनेपछि नवीन सोच आउँथ्यो । कोरोनापछि ठिक विपरीत भएको छ । हरदिन विदा परेकाले अरु त अरु बार समेत विर्सिन थालेको छ । समयसँगको दौडाइमा आफूले हात उठाएझै लागि रहेछ ।
दैनिक रुपमा भविष्य बनाउन खट्ने समयमा फगत दिन मार्ने काम भइरहेको छ । यसबेला समयसँग हारेको जस्तो महसुस भइरहेछ । हर कुरा सोचमा भन्दा पनि कर्ममा भर पर्दो रहेछ । सोचेका विषय कर्ममा बदल्न सक्नु भने भविष्य खोज्न टाढा जानु नपर्ला । तर ढलेका दिनको चर्चा गरेर नयाँ उमंग पलाउन गाह्रो छ अहिले ।