पाकिस्तानमा बिहानै दुई वटा एक्सप्रेस रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

जेठ, २४ मुल्तान । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ ।स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् ।

मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ । सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरु उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिए ।

मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको थियो, घोटकीका उपआयुक्त उस्मान अब्दुल्लाहले बताए । उनले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनुसन्धान शुरु भएको जानकारी दिए ।