महागुरु फाल्गुनन्द लिङदेन (वि.सं. १९४२–२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) हाङ्सम साम्यो या किराँत धर्मका महागुरु तथा समाज सुधारक थिए।(विकिपिडिया) उनै समाजसुधारक फाल्गुनन्दका अमर बाणिहरु यस्ता छन् ।
धार्नीको मुन्टो हल्लाउनु, बिसौलीको जिब्रो नपड्काउनु ।
दक्षिण पश्चिम दिशाबाट आउने रंगिविरंगी कार्यहरु अनि समयसंग तर्किएर हिँड्नु, तिमीहरुको असल भाग्य उत्तर पुर्वबाट उदाउनेछ ।
पछि–पछि प्रत्येक दिनमा मान्छे मरेको मात्र समाचार सुन्ने दिन आउनेछ ।
तिमी छोरा मान्छेहरु घर बस्न नपाउने दिन आउनेछ, त्यसैले श्रीमति, छोरी बुहारीहरुलाइ हलो जोत्न घर छाउन सिकाइ राख्नु ।
पछि सिलौटी लब्रेकुटी डाँडाहरुमा धान पाक्ने दिन आउनेछ ।
बाघ भालु बस्ने ओढारमा बाघ आउदैन भनेर ढुक्क नबस्नु एक दिन आएरै छाड्नेछ ।
आफ्ना भाषा ( लिपी, संस्कार संस्कृतीहरुको प्रचार प्रसार तिव्र गतिमा अघि बढाउनु ।
तिमीहरु पैसाको पछि लागेर ईश्वर (माङ) लाई बिर्सनेछौ, एउटा पहाडको टुप्पा जति नै पैसा भए पनि नपुग्ने दिन आउनेछ ।
एक माना अन्नको एक माना नै पैसा संग साटासाट गर्नुपर्ने दिन आउनेछ ।
मै गुरु, मै अवतारी, मै धर्मगुरु मै राजा ( महाराजा हुँ भनि दाबी गर्ने (लेसुङगाङ्) गुरु र धर्महरु अनगिन्ती जन्मिनेछन, त्यतिखेर सजग रहनु तिनीहरुको पछि कहिल्यै नलाग्नु ।
गाउँ–गाउँमा युद्ध भइ जातिय युद्ध अनि धर्मयुद्ध हुनेछ, यो टाढो जादैन ।
सलाइको एक बट्टा अन्न बराबर एक रुपैया पैसा लाग्ने दिन आउनेछ ।
पछि–पछि लाज, घिन साइनो सम्बन्ध पुर्ण रुपले त्यागी सबै संग विवाह हुन्छ, त्यसपछी महिला र पुरुषको जातमा मात्र सिमित हुने दिन आउनेछ ।
देव कार्यले माहुरी जस्तै एक बन्नेछौ, राजनितीले झिंगा जस्तै बन्नेछौ, माहुरीको मह र खिल दुबै हुन्छ, झिंगाको न खिल न मह त्यसैले तिमी किरात सन्तानहरु राजनितीमा नलाग्नु ।
पछि अन्न र पैसाको ठुलो युद्धा चल्नेछ । अन्त्यमा अन्न हार्नेछ, त्यसपछी अन्नको सह घटेर जति अन्न फलाए पनि नपुग्ने दिन आउनेछ अनिकाल बढ्नेछ । होसियार गर्नु, सचेत रहनु त्यतिबेला सिस्नु सुकाएर पिठो बनाइ बाँसको घिरिमा लुकाएर राख्नु एक दिन काम लाग्नेछ ।
सेतो शुद्ध शान्तिको प्रतीक माङनिसा गाडी विहान, दिउँसो साँझ नियमित माङ सेवा गरिरहनु । त्यतिबेला म चिन्नेछु, सत्य कहिल्यै हराउदेैन । तिमीहरुलाइ चाल्नोमा राखेर चाल्नेछु, नाङ्लोमा राखेर निफन्नेछु भुष भए उडेर जानेछौ, चामल भए रहनेछौ ।
यो पृथ्वी संसारमा लडाइ झगडाले ढाक्नेछ । सकल प्राणीहरुमा महा दुःखेै दुःखको रोग व्यथाहरु आउनेछ । औषधी उपचारले निको नहुने रोगहरु उत्पन्न हुनेछन । जसमा उत्तम औषधी सेवाभक्ति बाहेक उप्रान्त अर्को जेठो औषधी हुने छैन । उपदेश श्रवण गर्ने चेलाभुलाहरु हो राम्ररी सेवाभक्ति गर्नु है ।
एकदमै होसियारी अपनाउनु अबको दिनमा शान्ती कहिल्यै आउदैन । औषधी उपचारले निको नहुने रोगहरु फैलिनेछन, जसको उत्तम औषधी सेवा भक्ति वाहेक अरु हुने छैन ।






