संसद विघटनः न्यायाधीशले भने विगतका १२ दिन बिर्सनलायक रहे

जेठ, २६ काठमाडौं । संसद विघटनको मुद्दामा आज संवैधानिक इजलासमा बहस जारी छ । बहसमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले केही भनाई राखेका छन् ।

उनको भनाई यस्तो छ

म केही कुरा राख्छु । हिजो अस्तिका कुरा कोट्याउन चाहन्न तर, प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गनठबारे बिभिन्न प्रश्न उठेका छन्। सबै प्रश्नलाई ‘नोटिस’मा लिएका छौं। त्यो हाम्रो जानकारीमा छ ।

इजलासका सन्दर्भमा उठेका सबै प्रश्नको जवाफ शब्दले मात्रै दिँदैन, कहिलेकाँही मौनताले पनि प्रश्नको जवाफ दिन्छ। प्रश्नलाई कुन ढंगबाट सम्बोधन गर्नुपर्छ वा पर्दैन त्यो हामी जान्दछौं।

संवैधानिक इजलासमा सम्मानीय प्रधानन्यायाधीशको विकल्प छैन। संविधानले नै प्रधानन्यायाधीशको विकल्प दिँदैन। बाँकी हामी चार जना न्यायाधीश एउटै डुंगामा छौं। हामी रहरले आएका होइनौ, संयोगले जिम्मेवारी आएको छ अब यो जिम्मेवारीबाट हामी भाग्दैनौ ।

यो जिम्मेवारी अनुसार यो मुद्दालाई ‘लजिकल इन्ड’मा पुर्या‍उने हो। बेन्च गठनबारे अब कुनै प्रश्न नउठाउनु होला। हामी त्यो सुन्दैनौं।

बेन्च गठनलाई अनावश्यक रुपमा विवादमा ल्याइयो। विगतका १२ दिन हामी सबैका लागि बिर्सनलायक रहे।

अब यसमा नअल्झिएर बहसलाई अगाडी बढाऔ। अबदेखि बेन्च गठनको कुरामा बहस नउठाउ ।
भोलि फाइनल लेख्ने बेला के गर्ने गरौंला । अब यो बेन्च नै फाइनल हो ।