लावतीको छैटौँ स्मृति दिवसः विकासप्रेमी छवि

जेठ, २७ पाँचथर । विकासप्रेमी नेताको परिचय बनाएका पूर्वमन्त्री पद्मसुन्दर लावतीको छैटौँ स्मृति दिवस आज मनाइँदैछ । लावतीको ७६ वर्षका उमेरमा विसं २०७२ जेठ २७ गते काठमाडौँमा निधन भएको थियो । मिर्गौलासम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनको निधनपछि वर्षेनी यहाँ स्मृतिका कार्यक्रम आयोजना हुँदै आएकामा यस वर्ष कोभिड–१९ सङ्क्रमणको महामारीका कारण ठूला कार्यक्रम आयोजना गरिएका छैनन् । विकासनिर्माणका क्षेत्रमा जिल्लाका लागि निकै ठूलो योगदान दिएकाले जिल्लावासीले उहाँलाई सधैँ स्मरण गर्ने गरेका छन् ।

लावतीको जन्म विसं १९९६ मा पाकिस्तानको बालुचिस्तान प्रान्तको क्वेटामा भएको थियो । उनका मावली बाजे (हजुरबुवा) मेजर कमानसिंह थाङ्देन गोर्खा पल्टनमा कार्यरत हुँदा तत्कालीन बेलायती साम्राज्यको अधिनस्थ क्वेटामा उनको जन्म भएको थियो । उनको बाल्यकाल मावली घर तेह्रथुमको पाउँदिनमा बितेको थियो । लावतीले त्यहाँ प्रारम्भिक शिक्षाको शुरुआत गर्नुभएको थियो । किशोरावस्थामा प्रवेशपछि लावती आफ्नो घर यासोकको भदौरे आएका थिए ।

स्व लावतीद्वारा लिखित जीवनकथा ‘मेरो देश मेरो परिवेश’ मा उल्लेख भएअनुसार उनले केही समय हुलाकीको काम पनि गरेका थिए । सामाजिक सम्बन्ध बनेपछि उनी राजनीतिमा प्रवेश गर्नुभएको थियो । उनी विसं २०१९ मा युवक सङ्गठनको राजनीतिमा प्रवेश गरी अञ्चल सभापति भएका थिए । विसं २०२३ मा यासोक गाउँ पञ्चायतको प्रधानपञ्च, विसं २०२४ मा जिल्ला पञ्चायतको सदस्य, २०२९ मा राष्ट्रिय पञ्चायत सदस्य र उद्योग वाणिज्य राज्यमन्त्री हुनु भएपछि लावतीको राजनीतिक यात्राले उचाइ लियो । पटक–पटक गरेर २५ वर्ष लावतीले यहाँबाट राष्ट्रिय पञ्चायत तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए । उनी १२ पटक मन्त्री बनेका थिए । एकपटक उनी गृहमन्त्रीसमेत बनेका थिए।

लावतीको जीवनको उत्तराद्र्ध निकै उथलपुथलपूर्ण रह्यो । पञ्चायतकालदेखि नै पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापासँग उहाँको मतभेद थियो । पञ्चायत पृष्ठभूमिका नेता लोकन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, डा प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर राणासँग उनको राम्रै सम्बन्ध रहेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा मुख्यतः रवीन्द्रनाथ शर्मा र कमल थापासँग उनको घनिष्ठ राजनीतिक सहयात्रा रहेको पाइन्छ । राप्रपा नेपाल समानान्तरसमेत बनाई नेतृत्व गर्नुभएका लावती सधैँ संवैधानिक राजतन्त्रप्रतिको वैचारिक अडान रहेका कारण प्रजातन्त्र पुनःस्थापनापछि भने विसं २०५१ को मध्यावधि निर्वाचनमा मात्रै पाँचथर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

लावतीकै पहलमा मेची अञ्चलका जिल्ला जोड्ने मेची राजमार्ग निर्माण, फिदिमबाट यासोकसम्म विद्युतीकरण भएको थियो । उनी स्वास्थ्यमन्त्री छँदा झापाको भद्रपुरमा २५ शय्याको अस्पताल स्थापनासँगै अस्पतालका लागि पाँच बिघा जमिन खरिद, फिदिममा १५ शय्याको अस्पताल स्थापना र ५० रोपनी जग्गा खरिद, तेह्रथुममा १५ शय्याको अस्पताल स्थापना, ताप्लेजुङ, गुल्मी, भैरहवा, अर्घाखाँची, मनाङ, मुस्ताङ र चैनपुरमा अस्पताल स्थापनासँगै वीर अस्पतालको समेत स्तरोन्नति भएको उहाँको जीवनकथामा उल्लेख छ ।

लावतीले जिल्लामा कारागार, प्रहरी, नेपाली सेना, कृषि, जिल्ला विकास समिति, प्रशासन, अदालतलगायत निकायलाई प्रशस्तै जग्गाको प्रबन्ध गरेका थिए । भने पाँचथर बहुमुखी क्याम्पससहित गाउँ–गाउँमा विद्यालय, दूरसञ्चार, स्वास्थ्य संस्थाको स्थापनामा उहाँले महत्वपूर्ण पहल गर्नुभएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनलाई सहयोग गर्नुभएका लावतीले प्रधानमन्त्री बन्ने चाहना राख्नुभएको थियो । दरबारले उनलाई जिम्मेवारी नदिएपछि लावतीले ‘राजाले मलाई पत्याएनन्’ भन्ने गुनासो गरेको चर्चा हुने गरेको थियो । लावतीका दुई छोरी र तीन छोरा छन् । उनको स्मृतिमा फिदिम र यासोक बजारमा शालिक निर्माण गरिएका छन् ।रासस