भदौ ३०, काठमाडौं ।
चीनले अल्पसंख्यक वीगर मुसलमान समुदायबाट जबरजस्ती श्रम गराएको भन्दै अमेरिकाले केही उत्पादमाथि प्रतिबन्ध लगाएको छ । शिनजियाङका वीगर मुसलमानमाथि चिनियाँ सरकारको खराब व्यवहार हुने गरेको भन्दै ट्रम्प प्रशासनले यो पछिल्लो निर्णय लिएको हो ।
अमेरिकी सरकारले सीमामा खटिएका आफ्ना प्रशासकलाई चिनको शिनजियाङ प्रान्तका केही निश्चित स्थानमा बन्ने कपडा, कम्प्युटरका पाटपुर्जा र अन्य विभिन्न सामग्री भित्रिन नदिन आदेश दिएको छ । यी स्थानहरूमा वीगर समुदायलाई जबरजस्ती काम गर्न लगाइने गरेको अमेरिकाको आरोप छ ।
‘अन्तरराष्ट्रिय समुदायलाई यो स्पष्ट पार्नु जरुरी छ कि अमेरिकाको आपूर्ति प्रणालीमा जबरजस्ती मजदूरी गराउने गैरकानूनी, अमानवीय र शोषणकारी व्यवहारलाई सहन गरिनेछैन,’ सोमबार अमेरिकी सीमामा खटिएका कर्मचारीहरूलाई दिइएको आदेशमा थप भनिएको छ, ‘ट्रम्प प्रशासन केवल हेरिरहने छैन र ती विदेशी कम्पनीलाई देशमा आउने अनुमति दिइने छैन जसले पीडित कामदारलाई जबरजस्ती काम गराउँछन् ।’
भनिन्छ, चिनले उक्त प्रान्तमा झन्डै १० लाख भन्दा बढी मान्छेलाई हिरासतमा राखेको छ । तर चिनले भने हिरासतमा लिइएका व्यक्तिलाई ती स्थानमा काम सिक्न र पढ्न पठाइने गरेको दाबी गर्दै आएको छ ।
चीन एक्लैले विश्वको २० प्रतिशत कपास उत्पादन गर्छ । त्यसमध्ये अधिकांश शिनजियाङ प्रान्तमा उत्पादन हुन्छन् । यो क्षेत्रमा पेट्रोकेमिकल र विभिन्न इलेक्ट्रिक सरसामान समेत उत्पादन हुन्छन् ।
चिनले आफ्नो देशको सुरक्षा, चरमपन्थी गतिविधि र देशको अखण्डताका लागि यो आवश्यक रहेको बताएको छ । अमेरिकाले चिनमाथि पटक–पटक मानवअधिकार उल्लंघनको आरोप लगाउँदै आएको छ ।







