असार १५ः राष्ट्रिय धान दिवस देशभर मनाइँदै, नेपाली समाजमा दही च्यूरा खाने पर्व

असार, १५ काठमाडौं । आज असार १५ देशभर राष्ट्रिय धान दिवस देशभर मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।

हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । यस दिनमा औपचारिक, अनौपचारिक रुपमा धान रोप्ने कार्यक्रम पनि आयोजना गर्ने गरिन्छ ।

वि.सं. २०६१ साल मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

आजको दिन कृषि पेशामा रहने अथवा अन्य सबै पेशा, व्यवसायका मानिसहरुले दही, चिउरा खाएर असार १५ लाई मनाउने गर्छन् । असारमा एकचोटी हिलोमा पस्नैपर्छ भन्ने मान्यता अनुसार अधिकांश मानिसहरु आजैको दिनमा हिजोमा पसेर धान रोप्ने पनि गर्दछन् । आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि लिइन्छ ।

यस वर्ष ‘धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदैछ ।