केही दिन अघि १३ औ गणतन्त्र दिवस दीपावली गरेर मनायौं । जहानिया राणा शासनको अन्त्य पछि नेपालमा विभिन्न कालखण्डमा जनताको सार्वभौम अधिकारका निम्ती,राज्यमा समान पहुँच र पिछडिएका लिंग,वर्ग ,सम्प्रदाय जातजाती,पहिचान ,भेष ,भुषा भाषा उत्थान गर्न विभिन्न चरण र विभिन्न स्वरुपमा आन्दोलन र युद्धहरु भए। आज तिनै आन्दोलन युद्ध र शहिद अपांग घाइतेहरुको बलमा संविधान सभाको निर्वाचन मार्फत हामी संसदीय व्यवस्था सहितको संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेका छौ ।
विश्वमा एकै किसिमका शाषन प्रणाली भएका देश कही अति विकसित,विकसित र न्युन विकसित भएका देशहरु छन।कहि एक दलिय निरंकुश शासन त कहि बहुदलीय कहि राजतन्त्र कतै गणतन्त्र भएका देशहरु विकसित भएका छन।लोकतान्त्रिक गणतन्त्र भएका देशहरु कहि विकसित कहि कम विकसित भएका देखिन्छन ।
कहि राजा सहित कहि राष्ट्रपति सहित र कहि कार्यकारी भुमिकामा राष्ट्रपतिरप्रधानमन्त्री वा दुबै राखिएको देखिन्छ। हामी नेपालीहरुले विभिन्न इतिहास कालखन्डमा बदलिदो राजनैतिक शाषन प्रणाली भोग्दै बेहोर्दै आएका छौ तर जनताको दैनिकीमा भने तात्विक भिन्नता देखिएको छैन ।
हरेक विद्रोह आन्दोलनमा जनतालाइ मिठा सपना देखाएर प्रयोग गर्ने झुट्याइको राजनितीले निरन्तरता पाएकैले होला विस्तारै संघीय लोकतान्त्रिक गणतन्त्र प्रति आम मानिसको विश्वास घट्दैगएको देखिन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र राजतन्त्रभन्दा उन्नत किसिमको शासनप्रणाली हुनेछ यसमा आमजनताका ,गरिब किसान मजदुर एकल महिलाका,आर्थिक सामाजिक सांस्कृतिक र भौगोलिक रुपले पिछडिएका वर्गको राज्यमा पहुँच हुनेछ उनीहरुका दैनिकी जिवीका न्युनतम गास बास र कपास निम्ती सहज वातावरण बन्नेछ, यस्तो व्यवस्था कालान्तरका पुस्ताले आर्थिक सामाजिक र विकासका रुपले फड्को मारेको उन्नत र उदीयमान राज्य देख्न पाउनेछन भनेर नै विभिन्न कालमा आन्दोलन र जनयुद्धमा नेपालीहरुले प्रत्यक्ष संलग्न भए र बलिदान दिएका थिए ।
यसरी प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि आज आम नागरिक दैनिक जनजीविकाका मुद्दासंग जुध्नुपरेको छ।
डन,पैसा असुल गर्ने, धम्क्याउने ,काटमार गर्ने जस्ता अपराधिक मानसिकता र पृष्ठभूमि भएकाहरुको आजको गणतन्त्रमा बोलबाला छ।सामान्य राजनितीक आचरण,राजनितीक अनुशासन पालना नगर्नेहरु नै गणतन्त्रको हिमायती बनेको देखिन्छ।गणतन्त्र ,राजतन्त्र पन्चायत ,एकदलीय ,बहुदलीय निरंकुश सबै प्रकारका शाषन प्रणालीमा कुनै र कुनै रुपले यस्तै चरित्र भएका मानिसहरुको प्रभावमा पर्यो।अन्तत उनै मानिसलाइ नेता मानेर त्यही पद्दतीलाइ अनुसरण गरेर उस्तै किसिमको सोच बोकेर हिडेर गणतन्त्र पनि त्यसतै किसिमको पायौ।हामीले नाममा गणतन्त्र उपलब्धि ठान्यौ तर चरित्रमा उही पुरातन पद्दतीको पुनारावृत्ती पायौ।त्यसकारण पनि आजको राजनितीक प्रणालीको अभ्यासले जनतामा आफ्नोपनको आभास गराउदैन ।
जनताको हकहितका निम्ति नितीनिर्माण गर्ने हाम्रा संसदहरुको हाम्रा मन्त्रालयहरुका पर्फमेन्स उदेक लाग्दा छन।हामी सिमाका विषयमा चुकेका छौ।हामीले शहर भित्रका आवासीय घर बजार व्यवस्थापन गर्न सकेका छैनौ।
पार्किंग र ट्राफिक व्यवस्थापन गर्न सकेका छैनौ। न हामीले हामीसंग भएका प्राकृतिक श्रोत र सम्पदाको राम्रो प्रयोगमा ल्याएका छौ न विदेशबाट पाएका अनुदान र सहयोगलाइ प्रयोग गर्न सकेका छौ।आन्तरिक र बाह्य स्श्रोत साधन हरु देश र जनताको हितको साझेदारीका रुपमा मन्त्रालयले प्रयोग गर्नुपर्नेमा आफु अनुकूलको आफ्नो पार्टी अनुकूलको र आर्थिक अनुकूलतामा मन्त्रालयको श्रोत प्रयोग गरेको देखिन्छ।
स्वास्थ्य,शिक्षा,सुरक्षा,जलस्रोत,बन,जडिवुडी,खोलानाला पुल बाटाघाटा निर्माण जताजतै दलाली कमिसनतन्त्र भ्रष्टचार व्याप्त छ।यिनीहरुलाइ प्रत्यक्ष अप्रत्यक्षरुपमा सम्बन्धित मन्त्रालयले पार्टीले वा गुटले संरक्षण गरेका हुन्छन।मन्त्रालयहरु व्यापारिक केन्द्र बनेका छन् र दलाल पोस्ने निती बनाउन लाग्छन।यसले गर्दा सही समयमा सही ठाउमा उपयुक्त मानिसको व्यवस्थापन हुन सकेको छैन ।
विकासमा पनि नेपाल पचासौ वर्ष पछि धकिलिएको छ।उदाहरण स्वरुप हालैको संघीय संरचनाको चुनावमा सबै पार्टीको टिकट वितरण प्रणाली हेरौ अधिकांश जनप्रतिनिधीहरु व्यापारी ठेकदार वा नेताका आसेपासे रहेको देखिन्छ।
के यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र नेपालीको अन्तिम शाषन प्रणाली हो?के हामी देशको सार्वभौम स्खलन गर्ने,नागरिकलाइ विभाजित गर्ने ,विदेशी शक्तिसंग लम्पसार पर्ने यस्तो गणतान्त्रिक विधीसंग सहमत हुन सक्छौ?अग्रजहरुले स्वाधीन बनाएका ,विर पुर्खाको इतिहास आउदा दिनहरुमा संसदीय अंकगणित र पतीत राजनितीक प्रणालीले हामीलाइ गÞुलामी बनाएमा त्यस्तो अवस्था मान्न सक्छौ?
नागरिकको भोट एउटाको राजनितीक भविष्य र कुर्सीका लागी मात्र हुने यस्तो गणतान्त्रीक व्यवस्था मान्न तयार छौ?चार पाँच जना कथित नेताहरुले मात्र नेपाल र नेपालीहरुको भविष्य निक्यौलरनिर्णय गर्न सक्ने यो लोकतान्त्रिक गणतन्त्र मान्न हामी कसरी तयार हुने।यिनी स्वप्रश्न र आत्मिक उत्तरहरुले हाम्रो राजनितीक प्रणालीमा कहि कतै खराबी भएको महुशुस हुन्छ।
वास्तविकतमा लोकतान्त्रिक गणतन्त्र र संघीय शाषन प्रणाली राम्ररी वुझेका नेता माथिल्लो स्तरमा छैनन्।सत्ता वागडोर सम्हालेहरुमा त्यसकिसिमको क्षमता छैन।विश्वमा हजारौ बर्षदेखि संविधान नै नभएको देश उच्च विकसित देशको श्रेणीमा छ।
यहाँ संविधाननै नमान्ने पार्टी देशको संविधान जलाउने विद्रोही पार्टी त्यही संविधान अनुरुप बनेको त्यसदेशको सरकारको नेतृत्व गर्दछ।न्युनतम राजनितीक संस्कार र आचरणपनि पालना नहुने यस्तो किसिमको गणतान्त्रिक विधीमान्न हामी किन तयार हुने?
जसरी जहानिया राणाशाषन राजतन्त्र पंचायततन्त्र एकदलीय व्यवस्था जनताको विद्रोहबाट टिक्न सकेनन्।जनमतको कदर नहुने र राजकीय व्यवस्थामा आममानिसको पहुँच नपुग्ने स्थिती बन्दै गयो र यस किसिमको राजनितीक संस्कार विकास हुदै गयो भने जनताले यस्तो नाममात्रको गणतन्त्र भन्नेछन् ।


डा. घनश्याम पाण्डे




