साउन, ११ काठमाडौं । कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्नेछ । सरकारले चलचित्र क्षेत्रलगायत केही क्षेत्र खुल्नेबारे कुनै औपचारिक निर्णय गरेको छैन । चलचित्रकर्मीले भने सबैलाई खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्डसहित विस्तारै चलचित्र क्षेत्र पनि खोल्नु पर्ने बताउँदै आएका छन् । नेपाली चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमअघि नै प्रभावित अवस्थामा थियो । नेपाल चलचित्र सङ्घका अनुसार कूल निर्माण भएको चलचित्रमा चारदेखि पाँच प्रतिशतले मात्रै नाफाको व्यापार गरिरहेको चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमपछि शून्य अवस्थामा झरेको हो ।
पहिलो– चलचित्र क्षेत्र पुरानै लयमा फर्किन्छ कि फर्किँदैन रु दोस्रो– सङ्कटमा रहेको चलचित्र क्षेत्र झन सङ्कटको चपेटा प¥यो । तेस्रो– अबका दिनमा चलचित्र क्षेत्रको व्यावसायिक अवस्था डामाडोल हुनेछ । हाल चलचित्र क्षेत्रमा भइरहेका तीन भविष्यवाणी यीनै हुन् । यीमध्ये बलियो प्रभावचाहिँ दोस्रोलाई मान्न सकिन्छ । किनभने सङ्कटबाट माथि उठ्दै आएको चलचित्र क्षेत्र पुनः सङ्कटको अवस्थामा पुगेको छ । यसलाई फेरि पुनःसञ्चालन गर्न चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको भूमिका मुख्य हुने चलचित्रकर्मीको भनाइ छ ।
कोरोना त्रासका कारण नेपाली चलचित्रले झण्डै दुई वर्ष त गुमायो नै । अझै कति समय गुमाउनु पर्ने हो, निधो छैन । कोरोना भाइरसको प्रभावसँगै ‘म यस्तो गीत गाउँछु–२’ ले प्रदर्शन स्थगन गरेको थियो । यससँगै ‘बद्रीबहादुर’, ‘नीरफूल’, ‘सुस्केरा’, ‘प्रेम गीत–३’, ‘चपली हाइट–३’, ‘लप्पन छप्पन–२’, ‘हिजो आजका कुरा’, ‘लक्काजवान’, ‘माइकल अधिकारी’, ‘षट्कोण’, ‘पूर्व पश्चिम’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘जारी’, ‘दयारानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पानीफोटो’, ‘मन्त्र’, ‘एक’, झिँगेदाउ’, ‘चिसो मान्छे’, ‘दोख’लगायत २१ चलचित्र रिलिजलाई तयार छन् । कोरोनाका कारण यी चलचित्रको रिलिज अन्योल बनेको छ ।
नेपाल चलचित्र सङ्घका अनुसार रु तीन करोड लगानी फसाएर बसिरहेको ‘प्रेमगीत ३’ जस्ता ठूला चलचित्रको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ । “सामाजिक दूरी कायम गरेर हल सञ्चालन हुन सक्छ कि सक्दैन ? त्यो दोस्रो कुरा हो । पहिलो कुरा त हलसम्म दर्शक आउँछन् की आउँदैनन् र चुनौतीमा चलचित्र प्रदर्शन गर्न निर्माता तयार हुन्छन् की हुँदैन भन्ने नै हो”, चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधानले भने ।
सङ्घकै महासचिव अशोक शर्माका अनुसार वितरक दर्जन बढी चलचित्रमा कमिसनकै भरमा चर्को ब्याजको लगानी गरेर स्थिर बसेका छन् । तेत्तीस प्रतिशत ‘अकुपेन्सी’लाई शतप्रतिशत मानेर लकडाउनपछि पनि हल खोल्न सक्ने भनिए पनि दर्शक आउने निश्चितता भने छैन । “त्यसैले तत्काल हल खुल्ने कुनै छाँटकाँट देखिँदैन”, उनले भने।
नेपालमा मात्र हैन नेपाली चलचित्रको विदेशी बजार पनि शून्य अवस्थामा झरेको छ । नेपाली चलचित्रका लागि आकर्षक आम्दानीको अर्को स्रोत हो डायस्पोरा । कोभिडको दोस्रो र तेस्रो लहर पुनः शुरु भएसँगै विदेश बजार ९डायस्पोरा०को सम्भाव्यता झन्झन् खुम्चिँदै गएको छ ।
विदेशमा चलचित्र प्रदर्शन गर्दै आएका वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रका लागि आकर्षक बजार मानिएका अष्ट्रेलिया, अमेरिका, युरोप र जापान भाइरस सङ्कटले नराम्रोसँग थलिएका छन् । त्यहाँ फेरि नेपाली चलचित्र प्रदर्शन हुनु र नेपाली दर्शकले साथ दिनु भनेको केही वर्षका लागि दिवास्वप्न जस्तै भएको छ ।
विश्व बक्स अफिस शून्यमा खसेको उदाहरण हुन् भारत र अमेरिका । हिन्दूस्तान टाइम्सका अनुसार कोरोना प्रभावका कारण बलिउडले एक हजार ३०० करोड भारु गुमाएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार हलिउडले महामारीका कारण पाँच अर्ब अमेरिकी डलर क्षति बेहोर्नुपरेको छ । हलिउडमा मात्रै तत्काल १४ हजार कामदारले रोजगारी गुमाएका छन् । चीनका कूल ४० हजार हलमध्ये ४० प्रतिशत सधैँका लागि बन्द हुने बिबिसीले उल्लेख गरेको छ ।
कोरोना अघिसम्म नेपालमा पनि देशभरका २०४ पर्दा भएको हलहरुमध्ये १३ वटा कोरोना भाइरस जाखिमकै बीचमा सदाका लागि बन्द भएको चलचित्र सङ्घले जनाएको छ । देशभर ६४ वटा हल भूकम्पको प्रभावदेखि नै बन्द भएका थिए । नेपालमा कूल बन्द हुने हलको सङ्ख्या ७५ पुगेको छ । देशभर १५३ हल कोरोना भाइरस जोखिमको प्रभावमा परेका छन् ।
राजधानीमा मात्रै आधा दर्जनभन्दा बढी हल बन्द भएको छ । जमलको विश्वज्योति र चाबहिलको गोपिकृष्णलगायतका हल भत्काएर सपिङ मल निर्माण भइरहेको छ । ललितपुरको ललित सिनेमा, जोरपाटीको सिद्धार्थ, कोटेश्वरको पुष्पाञ्जलीलगायतका हल भत्काउने तयारी भइरहेको बताइएको छ । दरबारमार्गको जय नेपाल हल पनि भत्काउने निश्चित भएको हल सञ्चालक कम्पनी क्युएफएक्सले जनाएको छ ।
राजधानी बाहिरका ‘सिङ्गल थिएटर’ लगातार बन्द भइरहेका छन् । कतिपय हल कुखुरा पाल्ने टहरामा परिणत भएको छ । कतिपय हल गोदाममा परिणत भएको छ । यस्तो अवस्थामा चलचित्रकर्मी र सरकारी पक्षबीच आपसी सहकार्य र समन्वय आवश्यक देखिन्छ । समस्यामा रहेको चलचित्र क्षेत्र र चलचित्रकर्मीलाई तत्काल पुनःरुत्थानका लागि पहल गर्नुपर्दछ । अन्यथा चलचित्र क्षेत्र थप सङ्कटमा प्रवेश गर्नेछ । यसले चलचित्रमात्र नभई विस्तारै कला, साहित्य र अन्य मनोरञ्जनको क्षेत्रलाई समेत असर पार्नेछ ।
चलचित्रकर्मीले कोरोना प्रभावकै कारण चलचित्र क्षेत्रले झण्डै रु दुई अर्ब बराबरको क्षति बेहोर्नुपरेको बताउँदै आएका छन् तर यसको निश्चित तथ्याङ्क भने छैन । वर्षमा १२० को हाराहारीमा निर्माण हुने चलचित्र, १७० सञ्चालित हलका पर्दा र १५ हजारभन्दा बढी सक्रिय चलचित्रकर्मीको आधारमा अनुमानित क्षति चलचित्रसँग सम्बन्धित सङ्घ संस्थाबाट निकालिएको छ ।







