भदौ ३१, सिन्धुपाल्चोक ।
निरन्तरको पहिरोले जर्जर बनेको सिन्धुपाल्चोकका विभिन्न स्थानमा भूकम्पले झनै जोखिम बढाएको छ । भारी वर्षाका कारण पहिरो गएपछि आइतबार मात्र १४ जनाको मृत्यु हुनेगरी एकै वडाको तीन स्थानमा पहिरो गएको थियो ।
बाह्रबिसे नगरपालिका–७ का विभिन्न स्थानमा पहिरो गएपछि जमिन खुकुलो भएको र सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएर गएको भूकम्पले झनै जोखिम बढाएको छ । आइतबार बिहान गएको पहिरोमा परी विस्थापित भएका तथा त्यहाँ उद्धार गर्न पुगेका सुरक्षाकर्मीहरूलाई भूकम्पले झनै कठिन बनाउने निश्चित छ ।
यद्यपि हालसम्म कुनै क्षतिको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । उनले सुरक्षा निकायहरूलाई एलर्ट अवस्थामा रहन भनिसकेको जानकारी दिए ।
सिन्धुपाल्चोमा दुई महिना यता विभिन्न स्थानमा पहिरो जाँदा ७० भन्दा बढीको ज्यान गइसकेको छ । सयौं परिवार विस्थापित भएका छन् ।







