भदौ ३१, काठमाडौ ।
सरकारले असोज १ गत्तेबाट लागू हुनेगरी सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । सार्वजनिक यातायातका लागि डेढ गुणासम्म बढी सवारी भाडा लिन सक्ने सरकारको निर्णय छ ।
सोमबारको मन्त्रीपरिषद् बैठकले भने भाडादर बढाएर भए पनि सडक तथा हवाइ यातायात खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमा बताएका छन् । २०७६ चैत ११ बाट बन्द रहेको सार्वजनिक सवारी बीचमा जिल्लाभित्र आन्तरिक रूपमा मात्र चल्न पाउने भन्दै केही दिनका लागि खुला गरिएको भए तापनि कोरोना संक्रमण बढ्न थालेपछि पुनः बन्द गर्ने निर्णय भएको थियो ।
यस पटक भने अन्तरजिल्ला र लामो दुुरीका यातायात समेत खुल्ने निर्णय भएको छ । सडक यातायातका साथै हवाइ भाडा पनि बढ्ने निश्चित छ । हवाइ यातायात पनि असोजबाटै खुल्ने निर्णय भएको छ । तर त्यसको न्यूनतम भाडादर भने सरकारले सार्वजनिक गरेको छैन ।







