लामो दुरीका यातायातका लागि यस्ता नियम, यात्रुलाई मास्क अनिवार्य

भदौ ३१, काठमाडौं ।
सरकारले असोज १ बाट सबै किसिमका सडक यातायात सञ्चालन गर्ने निर्णय गरिसकेको छ । लामो दुरीको यातायातमा भने केही निश्चित नियम तोकिएका छन् ।

केही शर्त राखेर सवारी साधन सञ्चालनको अनुमति दिइएको हो । बिहीबारदेखि सञ्चालन हुने लामो दुरीका यातायातका साधनमा क्षमताभन्दा आधा अर्थात् ५० प्रतिशत यात्रु मात्र राख्न सकिनेछ । सिट बाहेक यात्रु राख्न पाइनेछैन भने एउटा सिटमा एक जना मात्र राख्नुपर्ने नियम बनाइएको छ ।

यसैगरी अधिकतम भाडा डेढ गुणा बढी मात्र लिन पाउनेछन् । यातायात सञ्चालकले सरकारले यस अघि तोकेको भन्दा ५० प्रतिशत बढीसम्म भाडा लिन पाउने नियम बनाएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

सरकारले तय गरेको नियम अनुसार सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्नेछ । यात्रु चढ्दा र ओर्लँदा अनिवार्य रूपमा ढोकामा राखिएको स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ । यसको व्यवस्था गाडीमा सञ्चालकले गर्नुपर्ने सरकारले जनाएको छ ।

सवारी साधनलाई दैनिक डिस्इन्फेक्ट गर्नुपर्ने नियम बनाइएको छ । यसैगरी चालक र सहचालकले पनि अनिवार्य रूपमा मास्क, फेस शिल्ड र पञ्जा प्रयोग गर्नुपर्नेछ ।

यी नियम पालना भए\नभएको अनुगमन र कारवाही गर्ने जिम्मा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई दिइएको छ । संक्रमणको अवस्था हेरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप निर्णय लिनसक्नेछ ।