भदौ ३१, काठमाडौं ।
सरकारले भदौ २५ लाई प्रत्येक वर्ष एसिड आक्रमण विरुद्धको जागरण दिवसका रूपमा मनाउने घोषणा गरेको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
साथै एसिडको उत्पादन, बिक्रि वितरण जस्ता विषय नियमनका लागि नेपाल कानून आयोगले कानून बनाउने तयारी थालेको छ । सरकारले एसिड आक्रमणको कसूर, सजाय र सुनुवाइ सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्न र एसिडको उत्पादन, आयात, निर्यात र विक्रि वितरण तथा प्रयोगलाई नियमन गर्न नयाँ ऐन समेत बनाउने निर्णय गरेको छ ।
तोकियो ‘डेडिकेटेड अस्पताल’
सरकारले एसिड आक्रमणमा परेकाहरूका लागि ‘डेडिकेटेड अस्पताल’ तोकेको छ । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर बर्न सेन्टरलाई बर्न विशेष अस्पतालका रूपमा तोकिएको मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।
उनीहरूको उपचार निःशूल्क हुनेछ । उपचारमा लागेको सबै खर्च सरकारले व्योहोर्ने ज्ञवालीले बताए । एसिड आक्रमणमा परेका सबैको उच्च शिक्षा निःशूल्क हुनेछ । यी दुवै कार्यमा स्वास्थ्य तथा जनसंख्या र शिक्षा मन्त्रालयले सहजिकरण गर्ने सरकारको निर्णय छ ।
व्यवसाय गर्न चाहे सहुलियपूर्ण कर्जा
सरकारले एसिड पीडितले कुनै व्यवसाय सञ्चालन गर्न चाहे सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने समेत निर्णय गरेको छ । यसको व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइसकिएको बताइएको छ ।
उनीहरूले कृषि तथा पशुपंक्षी सम्बन्धित व्यवसाय गर्न चाहेमा त्यसका लागि पनि सम्बन्धित मन्त्रालयलाई समन्वय गर्न भनिएको छ । सरकारले एसिड आक्रमणमा परेका सबैलाई आवश्यक सहयोग गर्नेगरी ऐनमा व्यवस्था हुने स्पष्ट पारेको छ ।







