इजरायललाई युएइ र बहराइनले दियो देशको मान्यता

भदौ ३१, काठमाडौं ।
मध्यपूर्वी देशहरू युएइ र बहराइनले इजरायललाई देशको मान्यता दिएका छन् । इजरायलसँगको सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन तीनै देशले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

तीनै देशले यस सम्झौतालाई ‘ऐतिहासिक’ भनी टिप्पणी गरेका छन् । यस सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मध्यस्थता गरेको थियो । सम्झौताको ट्रम्पले पनि प्रशंसा गर्दै खुसी व्यक्त गरेका छन् ।

सन् १९४८ मा स्थापना भएको देश इजरायललाई मान्यता दिने राष्ट्रमा युएइ र बहराइन क्रमशः तेस्रो र चौथो अरब राष्ट्र हुन् । छिमेकी प्यालेस्टाइनसँगको विवाद समाधान नभएसम्म राष्ट्रका रूपमा मान्यता नदिने अरब राष्ट्रहरूको अडान थियो ।

यस अघि मध्यपूर्वी देशहरूमा इजिप्ट र जोर्डनले मात्र इजरायललाई देशको रूपमा मान्यता दिएका थिए ।

दशकौंदेखि त्यहाँका राष्ट्रहरूले इजरायललाई देशका रूपमा नमानी वहिष्कार गर्दै आएका छन् । इजरायली प्रधानमन्त्री बेञ्ज्यमिन नेतन्याहूंले भनेका छन्, ‘यो इतिहासको एक निर्णायक दिन हो । यसले शान्तिको एउटा मिर्मिरे बिहानीको उद्घोष गरेको छ ।’
(एजेन्सी)