भदौ अन्तिमको वर्षाले महोत्तरीका किसानलाई राहत

भदौ ३१, महोत्तरी ।
भदौ अन्तिमतिर लगातार भएको वर्षा धानखेतीका लागि अमृत भएको छ । महिनाको अन्तिम साताको प्रारम्भसँगै दिनदिनै जसो परेको पानीले धानबाली हरियो भएर फिरेपछि महोत्तरीका किसानले राहत महसुस गरेका छन् ।

भदौ लागिकन पानी नपाएको र नाइट्रोजन मल (युरिया) पनि हाल्न नपाएर कक्रिएको धानको गाँज पछिल्लो वर्षाले हरियो भएपछि किसान खुसी भएका छन् । साताको प्रारम्भसँगै जिल्लाका सबैजसो भेगमा लगातार परिरहेको पानीले पहेँलिनै लागेका धानका बोट फिरेका छन् ।

दिनहुँजसो केहीबेर धानका जरा मजाले सिञ्चित गर्ने गरी मन्दमन्द भइरहेको वर्षाले बोट हरियो भएर हलक्क बढेको किसान बताउँछन् । महोत्तरीमा भदौ २२ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएको छ ।

‘हामी आकास ताक्नेका लागि त पछिल्लो वर्षा अमृत नै भएको छ’, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान मोहनखाँ थारुले भने, ‘धानको रोपो सरेपछि गाँजिने बेलामा युरिया मल हाल्न पाएनौँ, भदौ तीन सातासम्म खासै पानी पनि परेन तर अहिले भदौ निगल्दो दिनहुँजसो केहीबेर परिरहेको पानीले धान फिरेको छ ।’ अहिलेको वर्षामा हुने अम्लीयपनले धानका लागि मलको समेत काम गरेको खाँको भनाइ छ ।

जिल्लाभरिकै कुल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकासे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ । जिल्लामा करिब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइको कुलो नहर लाग्ने र करिब त्यत्तिमै वैकल्पिक सिँचाइको प्रबन्धले जेनतेन पुगेको छ । जिल्लाका ८० प्रतिशत जग्गा अझै आकासे पानीको भरमा रहेको कृषि ज्ञान केन्द्र मलङ्गवा, सर्लाही (कार्यक्षेत्र–महोत्तरी, सर्लाही) ले जनाएको छ ।

‘हुन त के छ र हाम्रा लागि ? न बजारमा मल, न समयमा बीउबिजन, न सुलभ ऋण’, बर्दिवास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहा गुनासो गर्छन्, ‘सबै कुरा प्रकृतिकै शरणमा रहेका हामीलाई अहिलेको वर्षाले राहत दिएको छ ।’ अब धानमा कुनै रोग नलागे केही धान भित्र्याउने आस जागेको उनको भनाइ छ ।

यसपालि असार निगल्दोदेखि साउन मध्यसम्म राम्ररी पानी परेपछि धान रोप्न सहज भएको किसान सम्झन्छन् । त्यसयता धानको रोपो सरेपछि र त्यसपछि गाँजिने बेलामा युरिया मल हाल्न नपाउँदा विरक्तिएका किसानलाई समय–समयको वर्षाले नै त्राण दिएको छ । जिल्लामा यसपालि करिब ४० हजार हेक्टरमा धानखेती गरिएको कृषिसम्बद्ध कार्यालयहरुको आँकडा छ ।

पछिल्लो पटकका वर्षाले सिँचाइसँगै धानका लागि थप पोषणको काम गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाका कृषिविज्ञ पनि स्वीकार गर्छन् । ‘अहिलेको वर्षा धान खेतीका लागि अमृत सरह नै भएको छ’, केन्द्रका निमित्त प्रमुख देवानन्द रायले भने ।

जिल्लाको मुख्यबाली मानिने धानका लागि अहिलेको वर्षा अमृत सरह भए पनि अन्य नगदेबालीका लागि भने समस्या बनेको छ । तरकारी खेतीको गोडमेल लगातारको वर्षाले गर्न नपाइँदा झारपातले छोपेको किसान बताउँछन् । (रासस)