देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य

भदौ, ३ काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छिन । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन्।

नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेकी छिन् ।

मुख्यमन्त्री शाक्यको पृष्ठभूमि

एमालेका उपाध्यक्ष शाक्य विसं २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । काठमाडौँ शहरको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिएकी उनको धैरे समय राजनीतिमै बितेको छ । विसं २०५६ मा काठमाडौँबाट सांसद बनेकी उनी दोस्रो संविधानसभामा सदस्यसमेत भएकी थिइन् । उनले पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिन् ।

शाक्य झण्डै चार दशकको राजनीतिक जीवनबाट अझै क्रियाशील छिन् । ६८ वर्षीय शाक्य २०३६ सालमा घर छाडेर पूर्णकालीन राजनीतिमा लागिन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ पर्नुभएको थियो र त्यसपछि अखिल नेपाल महिला सङ्घको अध्यक्षसमेत भइन् । उनी निरन्तररुपमा पार्टीमा सक्रिय महिला नेतृमध्ये छिन् ।

मुख्यमन्त्री शाक्यको जन्म विसं २०१० को दशैँको अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबार स्क्वायर नजिकैको झोचेनको नेवार परिवारमा भएको थियो । आमाबुबाका आठ सन्तानमध्ये उनी दोस्रो सन्तति हुन् । मुख्यमन्त्री शाक्य र उहाँका पति अमृतकुमार बोहराबीच विसं २०३८ मा जनवादी विवाह भएको थियो । उनका एक छोरा र एक छोरी हुन् ।

भूमिगत राजनीतिकै क्रममा चिनजान भएका बोहरासँग शाक्यले विवाह गरेकी थिइन् । उनीसहित बोहरा अहिले पनि राजनीतिमा सक्रिय छन् । नेपाली राजनीतिमा अष्टलक्ष्मीको नाम महिला नेतृको अग्रभागमा आउने गर्दछ । उनले १८ वर्षको उमेरमा विद्यालय तह उत्तीर्ण गरेपछि चिनियाँ भाषा अध्ययन गरेकी थिइन् । शाक्यले विसं २०२८ मा एसएलसी पास गरेकी हुन्। एसएलसी दिएपछि शाक्य चिनियाँ भाषा सिक्ने काममा लागिन् । किशोरावस्थामै राजनीतिक चेतना जागेकाले उनलाई चिनियाँ भाषा सिक्ने अवसरले राजनीतिमा जाने प्ररेणा मिलेको थियो ।

उनले रत्नराज्य क्याम्पसबाट उच्च शिक्षाको अध्ययन थालि भई प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत रहँदा तत्कालीन शिक्षा अव्यावहारिक र ‘बुर्जुवा शिक्षा’ रहेको भन्दै अध्ययनलाई बीचमै छाड्नुभएको थियो । मुख्यमन्त्री शाक्यले वामपन्थी बुद्धिजीवी महेशमान श्रेष्ठमार्फत साम्यवादका बारेमा प्रशिक्षण पाएकी थिइन् । चिनियाँ भाषाको ज्ञान भएकाले उनले माओत्सेतुङको जीवनी र चीनको पुनःनिर्माणमा उहाँको योगदानका बारेमा अध्ययन गरेकी थिइन् ।

चिनियाँ भाषा सिकेपछि शाक्य चीनको राजनीतिक व्यवस्थालाई बुझेकाले कम्युनिष्ट राजनीतिमा लाग्न बल पुगेको बताउछिन् । उनले विभिन्न समयमा जेल जीवनसमेत बिताइन् । अखिल नेपाल महिला सङ्घको कार्यक्रम गर्दा इलाममा जेल जीवन बिताइन् । विसं २०४६ मा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला उहाँसहित अन्य थुप्रै नेता पक्राउ परेका थिए । उहाँले जेल जीवन बिताउँदा झापामा सिस्नुपानी लगाएको बताइन्छ । प्रहरीले दैनिक यातना दिँदा पनि हिम्मत नहारेका उहाँ विसं २०४६ मा देशमा बहुदल स्थापना भएपछि जेलमुक्त भएकी थिइन् ।

शाक्यले २०३६ देखि २०४६ सालसम्म सिन्धुपालचोकदेखि झापासम्मका गाउँमा राजनीतिक चेतनाको विकास गर्दै आएको बताइन्छ । उनले तत्कालीन समयमा मेची अञ्चलको महिला सङ्घको नेतृत्वसमेत गरीन। उनले एमालेको मुस्लिम सङ्गठन, कानून विभाग र संसदीय सुनुवाइ समितिको प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी छिन्। एमालेको महिला सङ्गठनलाई मजबुद बनाउन शाक्यको विशेष भूमिका रहेको छ । तत्कालीन अवस्थामा एमालेको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट उपाध्यक्ष बनिन् ।

दुई मन्त्रीको शपथ

प्रदेशका नवनियुक्त दुई मन्त्रीले बुधबार राति पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई शपथग्रहण गराएका हुन् ।

खोप पहिलो प्राथमिकताः प्रदेश सरकार

शाक्य मुख्यमन्त्री भएपछि प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक बुधबार अबेर राति सम्पन्न भएको छ । बैठकले कोभिड खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । बैठकले पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ ।