प्रदेश १ का मुख्यामन्त्री शेरधन राईले राजीनामा दिदै, भीम आचार्य मुख्यमन्त्री बन्ने बाटो खुल्ला

काठमाडौं, १० भदौं । प्रदेश १ का मुख्यामन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिने भएका छन् । राईले नयाँ मुख्ययमन्त्रीका लागि एमालृ सचिव भीम आचार्यलाई मुख्यमन्त्री बन्ने मार्ग प्रसस्त गर्नका लागि राजीनामा दिन लागेका हुन् ।

पार्टी विभाजनकै कारण पूरा कार्यकाल काम गर्न नपाइकन लगभग साढे तीन वर्षमै राईले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था बनेको हो । संसदीय दलको नेता परिवर्तनकै लागि राईले बिहान एमाले संसदीय दलको बैठक बोलाएका छन् ।

मुख्यमन्त्री बन्न संसदीय दलको नेता चयन हुनुपर्छ । राईले राजीनामा दिएर दलको नेताका लागि आचार्यलाई प्रस्ताव गर्ने स्रोतले बतायो । दलको नेता चयन भइसकेपछि आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिने भएको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १-१ जना सांसद छन् । मुख्यमन्त्री बन्नका लागि ४७ मत आवश्यक पर्छ । नेपाल नेतृत्वको समाजवादीले आफ्नो पक्षमा १५ सांसद रहेको दाबी गरिरहेको छ । प्रदेश १ मा एमालेका कम्तीमा ८ सांसदले समाजवादी रोजेमा एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहँदैन ।

काठमाडौंमा रहेका मुख्यमन्त्री राई, एमाले सचिव आचार्य र केन्द्रीय सदस्य जीवन घिमिरे लगायतका नेताहरु दलको बैठकमा भाग लिन बिहान विराटनगर आउँदैछन् । शेरधन २०७४ फागुन २ गते प्रदेश १ का पहिलो मुख्यमन्त्री बनेका हुन् ।