३१ भदौ, काठमाडौं । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन्।
किसानको छोरा सुगा अहिले ७१ बर्षको भएका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बन्नु भएका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री भएका छन् ।
प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफु सँधै प्रतिबद्ध रहेको बताएका छन् । “मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,” उनले भने ।
उनले आफुले सवैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन्। त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरे।
उनको मन्त्रीपरिषद्मा पूर्व अर्थ मन्त्री तारो असो र विदेश मन्त्री तोशिमित्सु मोतेगी दोहोरिने संभावना देखिएको छ ।
सुगाले यसअघि लिएको मन्त्रीपरिषद्को मुख्य सचिवको जिम्मेबारी भने तत्कालिन स्वास्थ्य मन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ ।
निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रुपमा रहनु भएका सुगालाई यसअघि गत सोमबार उहाँ पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो ।
सुगाले आबे नेतृत्वको सरकार रहेका बेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेबारी निर्वाह गरेका छन् ।
गत सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरे। उनीसँग प्रतिश्पर्धा गरेका पूर्व विदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गरे ।
निवर्तमान प्रधानमन्त्री आबेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए ।
उनी शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउदै पद त्याग गर्नुभएका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत भएका थिए । ऐजेन्सी







