विपुल अधिकारी
भदौ, २४ काठमाडौं । बुधबार हाम्रोपत्रिका डटकमले चितवनको रामपुरमा रहेको कृषि तथा बन विज्ञान विश्वविद्यालयका कार्यरत दैनिक ज्यालादारी मजुरले तीन दिनदेखि पशुहरु भोकै भन्ने समाचार प्रकाशन गर्यो ।
बुधबारको समाचार प्रकाशनपछि विद्यालय प्रशासनको अनुरोधमा त्यहाँका मजदुरहरले आजबाट पशु चौपायाहरुलाई दाना पानी दिन थालेका छन् । चार दिनदेखि भोकै रहेका चौपायाहरुले आजबाट दाना पानी पाएको विश्वविद्यालयका डिन डा. होम बहादुर बस्नेतले बताएका छन् ।
आन्दोलनमा रहेका मजदुरहरुलाई विश्वविद्यालयले निकै अनुरोध गरेपछि दाना पानी दिएको उनको भनाई छ । बस्नेत भन्छन्–‘विहान सरसफाई गरेर दाना पानी दिनुभएको छ । तर उहाँहरु पशु चराउने पक्षमा हुनुहुन्न ।’
चार दिनदेखि पशु पन्छी भोकै थिए । विश्वविद्यालयका दैनिक ज्यालादारी कर्मचारीहरुले आफुहरुलाई करारमा नियुक्त गर्नुपर्ने माग राख्दै पशु चौपायालाई दाना पानीसमेत नदिइ आन्दोलन गरेका थिए । उनीहरुले २० गते देखि डिन, सहायक डिन र प्रशासनमासमेत तालाबन्दी गरेर आन्दोलन थालेका थिए ।
बस्नेत भन्छन् – ‘उहाँहरुले आन्दोलन गरिरहनु भएको छ । उहाँहरुको माग सम्बोधन गर्न कानुनले दिदैन् । अब के गर्ने । उहाँहरुको आन्दोलन नछाड्ने हो भने उहाँहरुलाई अवकास गर्न आफुहरु बाध्य हुने छौं ।’
डिन, सहायक डिन र प्रशासनमासमेत तालाबन्दीले प्रशासनको काममासमेत प्रभाव परेको उनको भनाई छ । आन्दोलन गरिरहेका मजदुरहरुसँग आज छलफल गरेर निकास निकाल्ने प्रयास गर्ने उनको भनाई छ ।









