‘सभामुख र अर्थमन्त्रीलाई माइकले हान्ने सोचेका थियौं’

२५ भदौ, काठमाडौं । आफुहरुको अवरोधकाबीच सदनको कामकारबाही अगाडि बढाएपछि रुष्ट भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले शुक्रबार प्रतिनिधिसभामा रोष्ट्रममै उक्लने प्रयास गरे । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणको माइक तानेर रोष्ट्रमतर्फ (सभामुख र अर्थमन्त्री भएतर्फ) फ्याक्ने प्रयास गरे ।

गृहमन्त्री खाँणको टेबुलको माइक तानेर रोष्ट्रमतर्फ फ्याक्न खोज्ने एमाले सांसद हुन– रेखा कुमारी ।

बैठकपछि पत्रकारहरुले उनलाई माइक किन तानेको ? कस्लाई हान्न खोजेको ? भनी प्रश्न गरे । जवाफमा सांसद रेखा कुमारीले उनले सभामुखलाई र अर्थमन्त्रीलाई हान्न माइक तानेको बताइन् ।

एमाले सांसद रेखा कुमारीसंग पत्रकारहरुको सवालजवाफ

पत्रकार : माइक तान्नुभयो नि किन ?

रेखा कुमारी : टाउको फुटाउने अवस्था थियो, टाउको फुटाउने । यस्तो गैरसंवैधानिक गतिविधि गर्न हुँदैन । संसदको मर्यादा हुन्छ ? त्यो मर्यादा, पदीय मर्यादा (सभामुख)ले राख्न सक्नुभएन । त्यसको शसक्त विरोध गर्नुपर्छ हाम्रो योजना थियो ।

पत्रकार : तपाईंले (गृहमन्त्रीको) माइक किन निकाल्नुभयो ?

रेखा कुमारी : माइक, माइ ..जे पायो त्यहिले टाउको फुटाउने साचेको थियौं । फुटाइदिन्थ्यौं ।

पत्रकार : यो चाहीँ संसदीय मर्यादा हो ?

रेखा कुमारी : पहिला गल्ति कल्ले गरेको ? चोरबाटोबाट (बजेटको प्रतिस्थापन विधेयक) पेश गर्न मिल्छ ?

पत्रकार : माइकले हान्ने योजनामै त्यो (गृहमन्त्रीको) माइक तान्नुभएको हो ?

रेखा कुमारी : माइकले हान्ने योजना नै थियो ।

पत्रकार : कल्लाई हान्ने ?

रेखा कुमारी : सभामुखलाई हान्थ्यौं, अर्थमन्त्रीलाई हान्थ्यौं ।

पत्रकार : त्यसरी संसद चल्छ त ?

रेखा कुमारी : यसरी चल्छ त ? एउटा प्रतिपक्षले विरोध गरिरहेको अवस्थामा सदन चल्न सक्छ ?

पत्रकार : तपाईंहरु सर्वोच्चमा त्यहि विषय लिएर जाने । अनिय यता सदन अवरुद्ध गरेर हुन्छ त ?

रेखा कुमारी : सर्वोच्च … संसदको पनि नियम छ । तर, त्यो पदीय मर्यादा राख्नुभएन । दलीय व्यवस्थामा दलले (आफ्ना सांसदलाई) कारबाही गर्न पाउँछ । दलले कारबाही गरेपछि उहाँ (सभामुख)लाई पार्टीले कारबाही गरेको छ भनेर जानकारी गराइयो । तर .. (सभामुखले रोकिदिए) ।

१ भदौ २०७८ मा सरकारले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत संख्याले पार्टी फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी आध्यादेश ल्याएको थियो ।

एमालेले पनि त्यही दिन माधवकुमार नेपालसहित नयाँ दल गठनको पक्षमा रहेका १४ जनालाई पदमुक्त गर्न पत्र संसद सचिवालयमा पठायो । तर सभामुख अग्नि सापकोटाले तुरुन्तै निर्णय लिएनन् । ९ भदौ २०७८ मा माधव नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएपछि सभामुखले एमालेको पत्रबारे केही गर्नु नपर्ने निर्णय सुनाए ।

यहि विषयलाई लिएर एमालेले सभामुखमाथि प्रश्न उठाउँदै आएको छ र निरन्तर संसद बैठकमा नाराबाजी गर्दै आएको छ ।