भदौ, २७ काठमाडौं । एमसिसी उपाध्यक्ष चार दिने नेपाल भ्रमण सकेर फातिमा सुमार आज स्वदेश फर्कदै छिन् ।
नेपालमा एमसिसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो विषय गिजोलिँदै गएका बेला उनी गत बिहीबार काठमाडौं पुगेकी थिइन् । चार दिने भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिन् । भेटमा एमसिसी परियोजनाबारे छलफल भए पनि नेपालले ठोस धारणा दिन सकेको छैन ।
काठमाडौं ओर्लेपछि उनले पहिलो भेट ओलीसँग गरेकी थिइन् । ओलीले सत्तारुढ दलमा सहमति जुटेपछि मात्र आफूहरुले धारणा सार्वजनिक गर्ने भन्दै एमसिसीको बल सत्तारुढ दलको कोर्टमा फर्काइदिए । यद्यपि आफू प्रधानमन्त्री हुँदा एमसिसी सदनमा टेबल गर्न खोजेको उनले स्मरण गराए ।







