असोज, २ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताएका हुन् ।
उनले भने, “कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन । सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निश्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो । यसभन्दा तलमाथि गर्नुहुँदैन ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले कर्मचारी नियम कानुनबाट निर्देशित हुनुपर्ने बताए । “कर्मचारीको काम देश र जनताका सेवा गर्ने हो । कानुनको परिधिमा रहेर सक्रियताका साथ गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “कुन पार्टीको सरकार छ भन्ने होइन । सरकारलाई सहयोग गर्नुपर्दछ ।”
उनले मुलुकमा भ्रष्टाचार व्याप्त रहेकाले कर्मचारीले आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने उल्लेख गर्दै कसैले घूस खुवाउन खोजे खान्न भन्ने हिम्मत कर्मचारीले गर्नुपर्ने बताए । उनले म भ्रष्टाचारी होइन भनेर कर्मचारीले भन्नुसक्नुपर्ने धारणा राखे ।
अध्यक्ष ओलीले वर्तमान सरकारले कर्मचारीलाई जथाभावी सरुवा गरेकाले त्यसो नगर्न आग्रह गर्दै लोकतन्त्रको लडाइँमा कर्मचारी अग्रभागमा रहेकाले लोकतन्त्रलाई जोगाउने दायित्व पनि कर्मचारीको रहेको बताए । उनले राजनीतिक क्षेत्रमा काला बादल मडारिएको बेला कर्मचारीले मुलुकलाई सही दिशामा लैजानुपर्ने धारणा राखे ।
एमालेका महासचिव ईश्वर पोखरेलले पहिले लोकतन्त्रको लडाइँ लडेको र अब लोकतन्त्र सुदृढीकरणका लागि लाग्नुपर्ने बेला आएको बताउँदै एमाले एकताको पक्षपोषण गर्ने चरित्र भएको पार्टी भएकाले विभाजन भएर जानेले चाँडै नै समाप्त हुने बताउनुभयो । उहाँले निजामती कर्मचारीले जनताको सेवामा तत्पर हुनुपर्नेमा जोड दिए ।
एमालेका नेता रामबहादुर थापाले निजामती कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीको परिभाषा बदल्नुपर्ने बताए । उनले कर्मचारीको अहिलेको कार्यभार राष्ट्रिय स्वाधीनको रक्षा र मुलुकलाई समृद्धि र विकासतर्फको डो¥याउनु भएको बताए । उनले भने, “कर्मचारीमा पुरानो कार्यशैली छ । त्यसलाई आधुनिकीकरण गर्दै कार्यशैलीमा परिवर्तन गर्नुपर्दछ । प्रशासनलाई स्मार्ट प्रशासनमा बदल्नु जरुरी छ ।”
नेता थापाले भ्रष्टाचार उन्मूलन नभईकन मुलुक समृद्धि हुन नसक्ने भन्दै कर्मचारीको नेतृत्वमा भ्रष्टाचारविरुद्ध नयाँ अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे ।
भेलामा निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनबीच एकीकरणसमेत भएको छ । सङ्गठनका अध्यक्ष केदार देवकोटाले २७५ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको जानकारी दिए ।
सङ्गठनले निजमती कर्मचारीको आधिकारिक ट्रेड युनियनमा निर्वाचित पदाधिकारीलाई फिर्ता बनाउने निर्णयसमेत गरेको छ । ती पदाधिकारिलाई फिर्ता बोलाई केदारप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी पठाउने निर्णय गरेको सङ्गठनका महासचिव रेवन्त गौतमले जानकार दिए ।







