असोज १, काठमाडौं ।
श्रम तथा रोजगार कार्यालय खुलेसँगै श्रम स्वीकृति लिने र नवीकरण गराउनेको संख्या पनि बढ्दै गएको छ । राजधानीको तहाचलस्थित कार्यालयले हाल दैनिक ५० वटा श्रम स्वीकृति दिँदै आएको छ ।
प्रदेशमा रहेकामध्ये पनि प्रदेश नं. १ बाहेकका कार्यालय खुलिसकेका छन् । त्यहाँबाट पनि स्वीकृति लिनेहरू छन् । तर त्यसको यकीन तथ्यांक छैन ।
कोरोना महामारीपछि विदेशबाट घर फर्केका युवा जनशक्ति फेरि विदेश पलायन भइरहेका छन् । पहिलेजस्तो भीड नभए पनि श्रम कार्यालयबाट श्रम स्वीकृति दिने कार्य भइरहेको कार्यालयले जनाएको छ ।
सरकारले असोज ५ देखि हवाइ सेवा खुलाउने निर्णय गरेसँगै श्रम स्वीकृति लिनेको संख्या अब झन् बढ्ने निश्चित छ । सार्वजनिक यातायात पनि खुलिसकेका कारण अन्य जिल्लाबाट राजधानी आइ यहीँबाट उड्ने तयारीमा रहेकाहरू पनि बढ्नेछन् ।







