असोज, ४ काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामूहिक हत्याकाण्ड मुख्य योजनाकारसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार यसअधि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका लोकबहादुरका काका रहेको प्रहरीले जनाएको छ ।
हत्याको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मिलेर योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् । लोकबहादुर सहित ५ जना मिलेर योजनाबद्ध रुपमा हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
लोकबहादुरका काका खड्ग बहादुर हत्याको मुख्य योजनाकार रहेको दावी प्रहरीले गरेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा हत्या गर्ने संगठित योजना देखिएको प्रहरीले जनाएको छ । पाँच जना मिलेर कसैले चिपर्ट र कसैले छुरीले हानेर सामुहिक हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोक बहादुर र उनका काकाका छोरा हस्तबहादुरले मुख थुनेर चिर्पटले हानेर हत्या गरेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।







