संखुवासभा हत्याकाण्डः लोकबहादुरको घरमा बसेर यसरी बनाइएको थियो हत्याको योजना

असोज, ४ काठमाडौं । संखुवासभाको उम्लिङमा भएको सामूहिक हत्याकाण्डका अन्य ४ जना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको योजना लोकबहादुरको घरका हत्याको अघिल्लो दिन बसेर योजना बनाएको खुलेको छ ।

प्रहरीको अनुसन्धानबाट खुलेको हत्याको योजना यस्तो छ

५ जनाको समूहले अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो राति ८ बजे बसी बनाएका थिए । योजनाअनुसार भदौ २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही बेला मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमाल समेत लाने योजना बनाएका थिए ।

योजनाअनुसार मृतक तेजकुमार कार्की बिहान आउने निश्चित गर्न खड्गबहादुर कार्की बिहान ५ बजे तेजकुमार कार्कीको घरमा गई ‘लोकबहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नू’ भनी तेजकुमार कार्कीलाई लोकबहादुर कार्कीको घरतर्फ जान अभिप्रेरित गरी घरतर्फ फर्केको र तेजकुमार लोकबहादुर कार्कीको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर निजको घरपछाडि चिर्पट बोकी तयारी हालतमा बसेका थिए ।

मृतक तेजकुमार कार्की बिहान ५ बजे उठी लोकबहादुरको घरमा खेताला निश्चित गर्न सुतिरहेको लोकबहादुरलाई ‘अल्छी अझैसम्म उठेको छैनस् रु’ भन्दै कराएपछि लोकबहादुर उठेका थिए ।

सो समयमा लोकबहादुरको भाई नरेश कार्की र बुबा रणबहादुर कार्कीसमेत घरमै थिए । घरबाट फर्किने क्रममा योजनाअनुसार लोकबहादुरले भाई नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकी पछिपछि गई घरपछाडिको गोगनेको रूखनजिक मृतक तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट लिएर आई तेजकुमारमाथि प्रहार गरेको र हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरेपछि घोप्टो पारेका थिए ।

घटनाको बेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हार गुहार सुनेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेजबहादुरको श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेका थिए । कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खडकबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गरेका थिए । हत्यापछि मृतक रञ्जनाको शव रणबहादुर र नरेशले कमलाको शव भएको स्थानसम्म पुर्याउन सहयोग गरेका थिए ।

उक्त घटनाको बेला मृतक नाबालकहरू दिपेन र गोमा घरनजिकको बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनेका थिए । र लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारी उनीहरु दुइ जनाको हत्या गरेका थिए ।

त्यसपछि पाँचै जना अभियुक्तहरू मृतकको घरतर्फ गएका थिए र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेकी थिइन् । हस्तबहादुरले उनलाई समातेर घरपछाडिको गोठनजिक लगेका थिए । लोकबहादुरलेउनको टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेका थिए ।

घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी पाँचै जना लोकबहादुरको घरमा गई आफ्ना ज्यान र हतियारमा लागेका रगत पखाली चिर्पटहरू अँगेनामा डडाएका थिए । त्यसपछि खड्गबहादुर र निजको छोरा हस्तबहादुर आफ्ना घर गएका थिए । फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर स्वीच अफ गरी घरमुनिको ओडारमा लुकाएका थिए ।

त्यसपछि फेरि सबै जना लोकबहादुरको घरमा गई घटनाबारे कसैले सोधे केही पनि थाहा नभएको बताउने प्लान गरेका थिए । यदि प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधि पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी आ-आफ्ना घर फर्केका थिए ।