असोज १, काठमाडौं ।
विश्वमै प्याज उत्पादनमा अग्रणी स्थानमा रहेको देशमध्ये एक भारतले भर्खरै प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । आफ्नै देशलाई अपुग देखिएपछि भारतले निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
भारतले यो पहिलोपल्ट गरेको भने होइन । यस अघि पनि भारतले आन्तरिक माग धान्न र प्याजको भाउ बढ्न नदिन निर्यात रोक्ने गरेको छ । जसले दक्षिण एसियाली देशमा पटक पटक प्याजको भाउ चर्को हुने गरेको छ ।
तर यस पटकको निर्यातले बंगलादेशलाई भने पहिले जस्तो छोएको देखिँदैन । जबकी गत वर्ष त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले ‘भान्सामा प्याज प्रयोग नगर्नू’ भन्ने अभिव्यक्ति दिएपछि यो विषय चर्चित बन्न पुगेको थियो ।
निश्चय नै त्यो बेला बजारमा प्याजको हाहाकार भयो र मूल्य आकाशियो । पूर्व जानकारी बिना नै भारतले रोक लगाइदिएको भन्दै बंगलादेश भारतसँग रुष्ट पनि बन्यो । तर यसको दुई महिनापछि बंगलादेशले आफूलाई प्याज आयात गर्नुपर्ने आवश्यकता नरहेको घोषणा गर्यो ।
बंगलादेशमा कसरी भयो त यो सम्भव ?
उक्त देशले प्याजमा आत्मनिर्भर बन्न कृषकलाई प्रोत्साहित गर्ने नीति लियो । देशको झन्डै २ हजार ६ सय हेक्टरमा ३.२२ लाख टन प्याज उत्पादन गर्ने लक्ष्य लियो । यस योजनाका लागि २ हजार ५ सय किसानलाई बिऊ, मल र सिचाईँका लागि अनुदान दिइयो ।
अहिले प्याजको आयात रोकिँदा बजारमा प्याजको मूल्य बढेको त छ । तर बंगलादेशी सरकारले ठाउँ ठाउँमा सहुलियत दरको पसलबाट निकै सस्तोमा बेच्ने बताइरहेको छ ।
(एजेन्सी)







