असोज, ६ काठमाडौं । सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिशाव जाँच गर्ने भएको छ ।
बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले नागरिकहरुको मिर्गौलाको अवस्था के कस्तो छ ? भन्ने जानकारी लिनका लागि ४० वर्ष नाघेका सबै नागरिकको पिशाव जाँच गर्ने योजना रहेको बताएका हुन् ।
‘स्वास्थ्य मन्त्रालयका साथीहरुले ४० वर्षमाथिका नागरिकहरुको पिशाव जाँच गर्ने योजना रहेको राख्नुभयो । कहिलेदेखि सुरु गर्ने लगायत आएको छैन’ समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
सरकारले मृगौलाका सम्बन्धमा नागरिकहरुमा के कस्तो समस्या छ भन्ने जानकारी लिने गरी योजना बनाएको समितिको जानकारीमा खाएको समिति सभापति घर्तीले बताइन् ।
बैठकपछि समितिले ‘मृगौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिएको छ ।
‘डायलिसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मृगौला फेल हुनुको कारण र मृगौला सम्बन्धी रोगबाट बच्ने उपायहरु बारेमा देश भरी नै जनचेतनामुलुक कार्यक्रम सञ्चालन गर्न’ पनि निर्देशन गरिएको छ ।
नेपालमा नेफ्रोलिजिष्ट्को दरवन्दी कम भएको भन्दै समितिले समय सापेक्ष नेफ्रोलिजिष्ट् बृद्वि गर्न सरकारलाई निर्देश गरेको छ ।
शिक्षा तथा स्वास्थ्य समितिले सरकरी अस्पतालहरुमा डायलिसिस सेवालाई प्रभावकारी बनाउन, मृगौला सम्बन्धि विशेष अस्पतालको व्यवस्थापन गर्न, विद्यालय तहको पाठ्यक्रमा समय सापेक्ष स्वास्थ्य सम्बन्धि जानकारी राख्न पनि सरकारलाई भनेको छ ।







