एक वर्ष अघि नै हत्या, गाउँलेको उजुरीपछि श्रीमतीसहित दुई पक्राउ

असोज १, नवलपरासी ।
प्रहरीले श्रीमानको हत्या गरेको अभियोगमा नवलपरासी गैडाकोटबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३८ वर्षिय फूलमाया र ४० वर्षिय मेखबहादुर मगर छन् ।

उनीहरू मिलेर स्थानीय धनबहादुर मगरको हत्या गरेको प्रहरीको आरोप छ । ४२ वर्षिय धनबहादुर वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्ष युएइ बसेर २०७५ माघमा घर फर्केका थिए । तर उनी घर फर्केपछि श्रीमती फूलमायासँग झगडा भइरहन्थ्यो ।

यसै क्रममा उनले आफ्नी श्रीमतीको स्थानीय मेखबहादुरसँग अनैतिक सम्बन्ध रहेको पत्तो पाए । त्यसपछि दुवै जनालाई मार्ने धम्कि दिएका थिए । यसै कारण उनीबाट बच्न एक वर्ष अघि नै आफूहरू मिलेर धनबहादुरको हत्या गरेको दुवै जनाले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

प्रहरीलाई उनीहरूले दिएको जानकारी अनुसार गत वर्ष असार २० मा उनीहरूले धनबहादुरको हत्या गरी सुन्दरी सामुदायिक वनमा गाडेका थिए । फूलमायाले सुरुमा उनको संवेदनशील अंगमा प्रहार गरेको र पछि घाँटी अँठ्याएर हत्या गरेको बयान दिएकी छिन् ।

हत्यापछि उनले श्रीमानका सबै लत्ताकपडा र सामान लुकाएकी थिइन् । गाउँमा कसैले सोध्दा, विदेश गएको बताउने गरेकी थिइन् ।

कोरोना महामारीमा विदेश गएका सबैजसो नेपाल फर्के पनि धनबहादुर नफर्केपछि गाउँलेले उनी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । यसैको अनुसन्धान गर्ने क्रममा यो घटना सामुन्ने आएको हो । धनबहादुर हत्याको आरोपमा मंगलबार उनकी श्रीमती प्रहरीको फन्दमा परेकी छिन् ।

प्रहरीले धन बहादुरको कंकाल जिल्ला अस्पताल चितवनमा परीक्षणका लागि पठाएको छ । पक्राउ परेका दुवै जनाउपर कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।