असोज, ७ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण आफुले संसदमा सांसदको रुपमा भूमिका निर्वाह गर्न नपाएको बताएका छन् ।
एमालेले चालु अधिवेशन शुरु भएकै दिन २३ साउन २०७८ देखि प्रतिनिधिसभामा निरन्तर नाराबाजी गर्दै आएको छ । नाराबाजीकैबीच बजेट र बजेट आश्रित विधेयकहरु प्रतिनिधिसभाबाट पारित भए । तर, एमालेका सांसदहरुको निरन्तरको नाराबाजीका कारण आफुले निर्वाचन क्षेत्रको समस्या संसदमा राख्न नपाएको, बजेटका विषयमा सरकारलाई भन्नैपर्ने विषयहरु भन्न नपाएको, बजेटमा रहेका बिमत्तिहरु राख्न नपाएको सांसद थापाको गूनासो छ ।
‘(संसदमा) टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था रह्यो’ बिहीबार प्रतिनिधिसभा बैठकपछि पूर्वमन्त्री समेत रहेका सांसद थापाले पत्रकारहरुसंग भने । व्यक्तिगत रुपमा केपी शर्मा ओलीलाई संसदसंग घृणा लाग्ने र त्यो धारणा व्यक्तिबाट पार्टीमा पुग्यो भन्न कर लाग्ने अवस्था आएको पनि उनको भनाइ छ ।
थापाको भनाइ जस्ताको तस्तै
आज नेपाल कम्युनिस्ट पार्टी एमालेको कारणले गर्दा एमालेका सांसदले मात्र होइन, हामी कुनै पनि सांसदले संसदभित्र आफ्नो भूमिका निर्वाह गर्न पाएका छैनौं । मैले सांसद भएर यत्रो महत्वपुर्ण विधेयक (बजेट र बजेट आश्रित विधेयकहरु) पारित हुँदै गर्दा भूमिका निर्वाह गर्न पाइँन, एउटा प्रश्न राख्न पाइँन, आफ्नो मत राख्न पाइँन । म टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था रह्यो । संसदभित्र बस्दै गर्दा मेरो मन कुडिँएको छ । मलाई राष्ट्र ऋण उठाउने विधेयकमा बोल्नुथियो, आर्थिक बिधेयकमा बोल्नुथियो । मेरा दर्जनौं कुरा सरकारसामु राख्नुथियो । मेरा दर्जनौं विमत्तिहरु थिए तर, नाराबाजी भइरहेको बीचमा बोल्न मलाई स्वभा दिएन । संसदभित्र नाराबाजी के का लागि ? संसदबाट बजेट पारित भयो, यो बजेटभित्र प्रमुख प्रतिपक्षी दलको हैसियतले उठाउनुपर्ने प्रश्नहरु छैनन ? संसदलाई यसैगरी पंगु बनाइराख्ने ? एमालेले जुन विषय उठाएको छ के त्यो सभामुखले पुरा गर्न सक्नुहुन्छ ? सर्वोच्च अदालतमा बहस भइरहेको विषय संसदमा प्रवेश गर्न सक्छ ? संसद प्रवेश गर्न सक्दैन भन्ने एमालेलाई राम्रोसंग थाहा छ । तर, उहाँहरु नाराबाजी गरिरहनुभएको छ । यसले देखाउँछ– व्यक्तिगत रुपमा केपी शर्मा ओलीलाई संसदसंग घृणा लाग्छ । त्यो व्यक्तिको घृणा व्यक्तिबाट पार्टीमा पुग्यो भन्न कर लाग्छ । पूर्वप्रधानमन्त्री ओलीलाई संसद देख्नै हुन्न । जतिखेर संसदले प्रधानमन्त्री बनायो । उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभयो । संसदलाई वेवास्ता गर्नुभयो । संसद भंग गर्नुभयो, एक पटक होइन पटक÷पटक । संसद पुर्नस्थापित भइसकेपछि उहाँलाई संसदसंग यति घृणा लाग्छ कि यो संसदलाई पंगु बनाउँदैहुनुहुन्छ । पूर्वप्रधानमन्त्री ओलीको संसदप्रतिको जुन धारणा छ, त्यो सिंगो एमालेको धारणा बनाउने कुरा नेकपा एमालेको लागि र नेपालको संसदका लागि पनि यो अत्यन्तै अप्रिय बन्न सक्छ । अहिले संसदमा रबैया (नाराबाजी) के हो ? कल्ले पुरा गर्न सक्छ (एमालेको माग) ? हात्ती किनिदेउ हात्ती कनिदेउ, झोला किनिदेउ झोला किनिदेउ, हात्ती झोलामा कल्ले हाल्छ ? प्रतिपक्षले कहिलेबाही संसद बन्द गरेर प्रयोग गर्न सक्ने हतियारको पनि चरम दुरुपयोग भयो । अब त दुरुपयोग मात्र होइन निरपेक्ष जस्तो चरम दुरुपयोग । यो एमालेको गैरजिम्मेवारीपन होइन ? यो तरिकाबाट संसद चल्दैगर्दा यसले संसदीय पद्धतिको गरिमा राख्छ ? राख्दैन । प्रमुख प्रतिपक्षी दलको हैसियत के बनाइदिएको छ ? नारा, नाराबाजी गर्ने । लाज लागेर ठूलो ठूलो नेताहरु नारा लगाउन आउन छाड्नुभएको छ । नेकपा एमालेका ठूला ठूला सांसदहरु भाग्नुहुन्छ पछाडिको ढोकाबाट । लाज लाग्छ उहाँहरुलाई सामना गर्न । कल्ले आएर भन्न सक्नुहुन्छ कहिले सम्म यसरी संसद चलाउने ? एक दिन÷दुई दिन (नाराबाजी) चल्यो ठीक छ । तर, यसलाई अनन्तकालसम्म राख्ने हुन्छ र ? हुँदैन नी । आजभोलि त संसद आउन छाड्नुभयो एमालेका ठूलो नेताहरु । अरु सांसदहरु आउने नारा लगाउने जाने । विस्तारै विस्तारै यो बानी बस्दै जान्छ । यहि तरिकाबाट विधेयक आउने, यहि तरिकाबाट विधेयक पारित गर्दै जाँदै गर्दा संसदको गरिमा रहँदैन । संसदको गरिमा राख्न त सांसदलाई काम गर्ने ठाउँ दिने हो नि ।







