अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न- कालोधनलाई सेतो पार्ने कुरा कहाँको क्रान्तीकारी हो ?

असोज, ११ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै विरोध गरेका छन् ।

सोमबार राष्ट्रिय सभामा समय लिएर बोल्दै गुरुङले प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक कलाकार, पत्रकार, लेखापडी, सेवा प्रादायकले पछिल्लो तीन वर्षको आयकर फागुनभित्र बुझाउँदा तीन वर्ष अगाडिको कर मिनाहा हुने प्रावधान रहेको र त्यो आपत्तिजनक रहेको बताए ।

उनले थपे, ‘अर्थमन्त्री बडा क्रान्त्रीकारी नेता हुनुहुन्छ । उहाँलाई सोध्न चाहन्छु–यो कालो धनलाई दिनदहाडै सेतो पार्ने कुरा कहाँको क्रान्तीकारी हो ? कुन श्रमजिवी जनताको हितको लागि यो सहुलियत दिइँदैछ ? कुन राष्ट्रिय उद्योगपतिको लागि यो सहुलियत दिइँदैछ ?’

अध्यादेशको प्रतिस्थापन विधेयकका प्रावधानमाथि प्रश्न उठाए पनि एमाले सांसदहरुले बजेटसंग सम्बन्धित विधेयकहरुमाथिको कुनै पनि छलफलमा भने भाग लिएन ।

करको दायरा फराकिलो पार्ने योजना : अर्थमन्त्री

आर्थिक विधेयकमाथि दफावार छलफल गरियोस भन्ने प्रताव पेश गर्दा अर्थमन्त्री जनार्दन शर्माले एमाले सांसद गुरुङको प्रश्नको जवाफ दिए ।

‘कलाकार चिकित्सक, कानुन व्यावसायी लगायत कसको कर छुट हुने स्पष्ट तोकिएको छ । ती सबैलाई करको दायरामा ल्याउने कुरा गरिएको हो । करको विस्तार गर्ने योजना अन्तर्गत यो राखिएको स्पष्ट गराउन चाहन्छु’ अर्थमन्त्री शर्माले भने, ‘यसको अर्थ भ्रष्टाचार सम्बन्धी ऐनले काम नगर्ने होइन, ती एनेले काम गरिरहन्छन् ।’