असोज १, काठमाडौं ।
सरकारले बिहीबारबाट लामो दुरीको यातायात खोल्ने निर्णय गरेसँगै बसपार्क र टिकट काउन्टरमा चहलपहल बढेको छ । राजधानीकै पनि पुरानो र नयाँ बसपार्कमा मान्छेको भीडभाड बढेको छ ।
बुधबार देशभर हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिए पनि मान्छेको चहलपहलमा त्यसले असर पारेको देखिँदैन । कोरोना संक्रमण समाप्त भएझैं आवतजावत बढेको छ ।
यस अघि झन्डै सय दिनको प्रतिबन्धपछि सरकारले असार २५ गत्ते आन्तरिक सवारी साधन चलाउन दिने निर्णय गरेको थियो । तर साता बित्न नपाउँदै संक्रमितको संख्या बढेको भन्दै पुनः यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
बिग्रिए सवारी साधन
हाल ६ महिनापछि लामो दुरीका यातायात सञ्चालन गर्न दिने निर्णय हुँदा यातायात व्यवसायीमा हर्ष छाएको छ । तर सवारी साधन लामो समय नचलाइ राख्दा कतिपय पाटपुर्जा बिग्रिएका छन् भने गाडी मर्मतका लागि ग्यारेजमा समेत जनशक्ति अभाव छ ।
यसका साथै कतिपय व्यवसायी चालक र सहचालक गाउँमा भएका कारण तत्कालै सवारी साधन सञ्चालन गर्ने अवस्था नरहेको बताउँछन् । विशेषगरी पूर्वी पहाडी जिल्लाका साथै सुदूरक्षेत्रका लागि राजधानीबाट छुट्ने गाडीले आफ्नो सवारी साधनको अनिवार्य परीक्षण गराउनुपर्ने नियम छ ।
तर अधिकांश गाडी तत्कालै गुडाउनसक्ने अवस्थामा नरहेको अखिल नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । लामो दुरीका यातायातमा सीमित सवारी साधन मात्र गुडाउनसक्ने अवस्थामा रहेको उनको भनाइ छ ।
यातायात संगठनको स्वयंसेवक दस्ता तयार
यात्रालाई सुरक्षित र सहज बनाउनका लागि यातायात संगठनले स्वयंसेवक दस्ता तयार गरेको बताएका छन् । सरकारले बनाएका मापदण्ड पालना भए नभएको अनुगमन गर्ने जिम्मेवारी उनीहरूलाई दिइने तयारी रहेको अध्यक्ष राईले बताएका छन् ।
उनले सरकारले यात्राका क्रममा पालना गर्नुपर्ने नियमबारे जानकारी दिइने बताए । सरकारले नै यस्तो प्रशिक्षण दिनुपर्ने उनको भनाइ छ । नत्र आफूहरूले नै तलिम दिइ स्वयंसेवक दस्ता परिचालन गर्ने उनले बताए ।







