असोज, १५ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीका अध्यक्ष केपी ओलीसंग एक्ला एक्लै भेट्नुपर्ने बताएका छन् ।
बिहीबार संसदबैठकपछि उनले संसदको अवरोध हटाउने प्रारम्भिक बिन्दु नै एक्ला एक्लै भेट भएको बताए । सभामुख र प्रधानमन्त्रीले आफ्नो पार्टी अध्यक्षसंग एक्लाएक्लै भेटेपछि समस्या समाधानको उपाय निस्कन्छ भनेर सुझाएको तर, आफुहरुको सुझाव विपरित प्रधानमन्त्री र सभामुखले सर्वदलीय बैठक बोलाएकाले दुबै सर्वदलीय बैठकमा एमाले सहभागि नभएको बताए ।
सभामुखसंग संसद भवनमै हाम्रो भेट भएको थियो । त्यहाँ कानुनमन्त्री पनि हुनुहन्थ्यो । हामीले सभामुखलाई विपक्षी दलको नेतालाई भेट्नुस भन्यौं र कानुनमन्त्रीलाई पनि प्रधानमन्त्रीलाई विपक्षी दलको नेतालाई भेट्न आग्रह गर्नुस भन्यौं तर, त्यसो हुन सकेको छैन’ अधिकारीले थपे, ‘हाम्रो सुझाव नसुनेर सभामुखले पनि सर्वदलीय बैठक भनी बोलाउनुभयो गएनौं । प्रधानमन्त्रीले पनि बोलाउनुभयो हामी गएनौं ।’
अब पनि प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टी अध्यक्षसंग एक्लाएक्लै भेटेर संसदको अवरोध हटाउने पहलको सुरुवात गर्नुपर्ने उनको भनाइ छ ।
‘यो अवरोध (संसदमा जारी नाराबाजी) साँच्चै नै खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्षी दलको नेता, संवैधानिक परिषदको सदस्य हो । व्यक्तिगत रुपमा भेट्नुस् अधिकारीले नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसंग भने ।
सत्तारुढगठबन्धन र प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालिन नेकपा एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेको ५२ जनाको नियुक्ति खारेज गर्न लागि परेको भन्दै सांसद अधिकारीले त्यो नियुक्ति खारेज गरे फेरि नियुक्ति गर्न नसकिने पनि बताएका छन् ।
उहाँ(प्रधानमन्त्री)ले नियुक्ति (संवैधानिक आयोगहरुमा ओली नेतृत्वको सरकारले गरेको ५२ जनाको नियुक्ति)खारेज गर्दै हुनुहन्छ, अनेक उपाय गर्दै हुनुहुन्छ’ सांसद अधिकारीले थपे, ‘फेरि नियुक्ति हुँदैन किनभने प्रमुख प्रतिपक्ष दल जाँदैन त्यहाँ (संवैधानिक परिषदको बैठकमा) यस्तो जान्दा जान्दै किन निहुँ खोज्नुहुन्छ ? त्यसकारण व्यक्तिगत रुपमा भेट्नुस त्यसपछि मात्रै सर्वदलीय बैठक राख्नुस ।’
सांसद अधिकारीले आफ्नो पार्टीको अध्यक्षसंग प्रधानमन्त्रीले एक्लै भेटेपछि मात्रै संसदको अवरोधका विषयमा छलफल हुने पटक–पटक दोहो¥याएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीजीले विपक्षी दलको नेतासंग उहाँले वार्ता संवाद गर्न सनुहुन्न ?’ उनले भनेका छन् ।
बिहीबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नजानुको अर्को कारण माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सहभागिता पनि रहेको सांसद अधिकारीले बताए । माधव नेपाल नेतृत्वको पार्टी अवैधानिक भएको जिकिर गर्दै उनले त्यसलाई वैधाता दिने गरी आयोजित बैठकमा एमाले नजाने बताए ।







