संसदमा बिरोध गर्न छाडेपछि विरोधलाई मन्त्री !

असोज, २४ काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री बिरोध खतिवडासँग संसदीय व्यवस्थाको लामो अनुभव छ । प्रजातन्त्र स्थापनापछिको पहिलो संसद २०४८ सालमा संसदमा उनको सक्रियता निकै प्रशंसनीय थियो ।

उनको नाम अनुसार नै संसदमा प्रस्तुति हुन्थ्यो । ३६ महिना लगातार कांग्रेसले सरकार चलाउँदा बिरोध खतिवडाको बिरोध संसदमा सुन्न लायक थियो । उनै खतिवडा पछिल्लो समयमा भने संसदमा मत्थर भए । त्यतिबेलाको परिस्थिति अहिले नरहेको र कतिपय अवस्थामा उतिबेला केहि गल्ति गरेको बताउने खतिवडा संसदमा प्रस्तूती मथ्थर भएपछि नै मन्त्री भएका छन् ।

कस्ता थिए, कस्ता भए ?

२०४८ सालको पहिलो संसदमा सभामुख दमननाथ ढुंगाना र विपक्षी दल नेकपा एमालेका सांसद खतिवडाबीच रोचक सवालजवाफ र घोचपेच भइरहन्थ्यो । एकदिन सभामुखको कुर्सीबाट दमनले भने– मेरो नाम नै दमन हो । जवाफमा बिरोधले भने– मेरो पनि नामै बिरोध हो, त्यसैले तपाई दमन गर्नुहुन्छ भने म विरोध गरिरहन्छु । अहिले पनि खतिवडा सत्तापक्षका सांसद हुन् भन्ने कुरा उनी बस्ने लहरका आधारमा मात्र खुट्याउन सकिन्छ । किनकी संसदमा उनी सधैं सरकारलाई प्रश्न सोध्छन् र जनताको भाषामा बोल्छन् । आक्रामक बोलीले कहिलेकाहीँ पार्टीभित्र अप्ठेरोमा पनि पर्छन् ।

२०४८, २०५१ र २०५६ सालमा लगातार चुनाव जितेर संसदमा आएका खतिवडाको प्रस्तुति संसदीय इतिहासमा सँधै अब्बल रहेको छ । कुनै बेला खतिवडा, हृदयेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ र जागृतप्रसाद भेटवालको बोलीको प्रभाव संसद र संसदीय समितिमा निकै पथ्¥यो ।

२०६४ र २०७० मा उनको अनुपस्थिति संसदीय मामिलाका जानकारहरुले महसुस गरे । दुवै चुनावमा टिकट नपाएका खतिवडा २०७४ मा पुनः निर्वाचित भएर आए ।

तर, पछिल्लो समयमा संसदमा विरोध खतिवडाको विरोधको स्वर खासै सुनिएन् । संसदमा विरोध गर्न छाडेर शालिन भए । खतिवडाकै शब्दमा, पहिले र अहिलेको संसदीय राजनीतिको भिन्नता छ त्यसकारण उनी शालिन भएका हुन् ।

मन्त्री हुनु अघि ‘तपाईं संसदमा बोल्न छाड्नुभयो नि ? ’ भनी पश्न गर्दा खतिवडा भन्थे, ‘सुरुवाती चरण र अहिलेको संसदीय अभ्यास धेरै फरक छ । पहिले संसद गरमागरम हुन्थ्यो । घण्टौं बहस हुन्थ्यो । अहिले त्यस्तो हुँदैन ।’

२०४८ सालमा बहुदल स्थापित भएपछि कांग्रेस र कम्युनिष्टका बीचमा पानी बाराबार थियो । त्यो स्थितिमा एमालेले कांग्रेसविरुद्ध चर्कोसंग कुरा उठाउँथ्यो । बाहिर जति तोडफोड गर्न सकियो त्यति सरकारको ढाडैमा परे जस्तो ठान्थे विरोध । कांग्रेसले एकथरी कुरा गर्ने बित्तिकै खण्डन गर्नैपर्छ भन्ने सोच्ने, खण्डन गरिएन भने हारेको महसुस हुन्छ भन्ने थियो । तर, अहिले विरोध विपक्षीका सबै कुरा सुनेर पचाउन सक्ने स्थितिमा छ । जहाँको त्यहीँ नै तात्तातै जवाफ दिइहाल्न जाँगर पनि चल्दैन उनलाई । विस्तारै जवाफ दिँदा हुन्छ भन्ने तहमा पुगे । सरकार अधिनायकवादतर्फ गयो भनेर कसैले भन्यो भने तत्कालै जवाफ फर्काइहाल्दैनन् उनी । पहिले कहाँ यस्तो थियो र ? तत्कालै कसरी भयो अधिनायकवाद ? तेरो बोली ठीक छैन्, तत्काल फिर्ता लिइहाल, भनेर कुर्लिन्थे उनी । अहिले विरोधले विरोध गर्द छाडे, कुटीतिक हुन थाले र पो मन्त्री भएका छन् ।

एमाले फुटेपछि जु¥यो अवसर

२०३५ सालदेखि सक्रिय राजनीतिमा लागेका खतिवडा पहिलोपटक २०४८ सालमा सांसद भएका थिए । त्यसपछि २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ सालको आम निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरबाट निर्वाचित भए ।

३० वर्षअघि नै सांसद भइसकेका उनी मन्त्री भने पहिलो पटक भएका छन् । यो अवसर पनि एमाले फुटेपछि मिलेको हो ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तरजिवरोधमा खतिवडाले संधै माधव नेपाललाई साथ दिए । नेकपा एकता भंग भएर एमाले पुनस्थासपित हुँदा पनि माधव नेपाललाई साथ दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक गरेको संसद विघटन र ओलीका धेरै कार्यको विरोधमा आवाज उठाए । माधव नेपालले एमालेबाट आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता विरोधको दरिलो साथ रह्यो । संसदमा ३० वर्ष पहिले नै आएको भएपनि मन्त्री हुन नपाएका विरोध एमाले फुटे पछि भने मन्त्री बन्ने अवसर जु¥यो । समयका हिसावले उनले करिब डेढ वर्ष मन्त्रीको रुपमा काम गर्न पाउनेछन् ।

अब विरोधको परीक्षा

कोरोना भाइरसको महामारी कायमै रहेका बेला खतिवडा मन्त्री भएका छन् । परिपक्व व्यक्तिलाई मन्त्रीको रुपमा पाएको मन्त्रालयका कर्मचारीहरुले बताउँछन् ।

उनका अनुसार लामो राजनीतिक जीवनमा खतिवडाले आम मानिसका मुद्धाहरु संसदमा उठाएकाले पनि उनीबाट आशा गर्न सकिने ठाउँ छ । ‘हरेक मन्त्री आउँदा केही राम्रो हुने अपेक्षा त हुन्छ नै तर खतिवडाले राम्रो गर्छन् भन्नेमा विश्वस्त हुन सकिन्छ’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

मन्त्री खतिवडाले तत्काल कर्मचारी प्रशासनदेखि खोप व्यवस्थापनमा ध्यान दिनुपर्ने स्वास्थ्यका अधिकारीहरु बताउँछन् । यो बेला देखिने गरी स्वास्थ्य प्रणालीमा भएका कमजोरी सुधार गर्न लागि पर्ने हो भने स्वास्थ्यमन्त्री खतिवडा सफल हुने मन्त्रालयका अधिकारीहरुको टिप्पणी छ ।

खतिवडालाई काम देखाउने अवसर पनि आयो । ४ पटक सांसद भएकाले उनीसंग कानुन निर्माणमा राम्रो अनुभव छ । स्वास्थ्यका धेरै विषयमा नीति तथा कानुन निर्माण र संशोधन गर्नुपर्ने छ । कोरोनाकै सन्दर्भमा २०२३ सालको संक्रामक रोग ऐन अनुसार काम भइरहेको छ । खतिवडा कानुन बुझेको मान्छे हुन्, त्यसैगरी संसद हुँदा जनताको आवाज उठाएका छन्, अहिले उनी ठाउँमा पुगेको बेला लागि जनतालाई हित गर्ने स्वास्थ्य नीति बनाएर कार्यन्वयन गर्न सक्छन भन्ने विश्वास आम मानिसलाई छ ।

नेपालका निजी स्वास्थ्य संस्थामा अहिले पनि सर्वसाधारणले उपचार गराउन नसक्ने अवस्था छ । कोरोना महामारीका बेलामा यो कुरा झन् छर्लङ्गै देखियो । तर सरकारी अस्पतालमा भने कतिपय सेवा नपाइने, पालो पर्खिनुपर्ने, स्वास्थ्य उपकरणहरु नभएर निजीमै जानुपर्ने बाध्यता छ ।

सोही कारण उपचार नपाएर र उपचार खर्च धान्न नसकेर निम्नवर्गकाले मात्र नभई मध्यम वर्गले पनि जीवनको माया मार्नुपर्ने स्थिति छ । यो तीतो यथार्थलाई कम गर्न स्वास्थ्यमन्त्री खतिवडाले नीतिगत प्रबन्ध गर्नुपर्ने हुन्छ । खतिवडामा काम गर्न सक्ने क्षमता र अनुभव दुबै छ र यो उपयुक्त समय पनि हो तर उनले यस्ता विषय कत्तिको प्राथमिकतामा राख्छन् भन्ने महत्वपूर्ण कुरा होे ।

कोरोना महामारीको बेला केन्द्र, प्रदेश र स्थानीय सरकारसंग समन्वय हुन नसकेर महामारी नियन्त्रणमा सरकार असफल भएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । तीन तहको सरकारको अधिकार र कार्यक्षेत्रमा अन्यौल भएकाले महामारी नियन्त्रणको काम समेत प्रभावित भएको थियो ।

तीन तहका सरकारबीच समन्वयकारी भूमिका हुने गरी काम गर्नुपर्ने छ ।

नेपालमा खोप खरीद र व्यावस्थापमा ब्रेक थ्रु भइसकेकाले पनि स्वास्थ्यमन्त्री खतिवडालाई खोपको विषयमा धेरै गाह्रो नहुन सक्छ । सरकारले असोजसम्म एक तिहाइ नागरिकलाई खोप दिने लक्ष्य राखेकामा हालसम्म त्यो लक्ष्य करिब भेटेको छ ।

हाल ३२ प्रतिशतले पूर्ण खोपको मात्रा पाइसकेका छन् भने ४० प्रतिशतले पहिलो मात्रा पाइसकेका छन् । त्यसैगरी काठमाडौं उपत्यकामा ७४ प्रतिशतले दुबै डोज खोप पाइसकेका छन् भने ८१ प्रतिशतले पहिलो मात्रा खोप पाएका छन् ।

स्वास्थ्यमन्त्री खतिवडालाई खोप वितरणको यो रफ्तार बढाउनलाई चुनौती छ । सुरुवातमै धेरै भन्न नसकिने भए पनि अहिले यति भन्न सकिन्छ स्वास्थ्यमन्त्री खतिवडा काम देखाउने समयमा मन्त्री भएका छन् ।