फिदिम चत्रपथको ट्र्याक निर्माण कार्य पूरा

१ असोज, पाँचथर । फिदिम नगरपालिकाले विशेष प्राथमिकतामा राखेको फिदिम नगर चक्रपथ निर्माण कार्यअन्तर्गत सडकको ट्र्याक खोल्ने काम पूरा भएको छ । आर्थिक वर्ष २०७४÷०७५ बाट शुरु भएको चत्रपथ निर्माण कार्यअन्तर्गत गत आवमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएको हो । नगरपालिकाले फिदिम चत्रपथका लागि यसअघि निर्माण भएका सडकसमेतलाई समेटेर चत्रपथको ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको हो । पुराना तथा नयाँ सडक गरी ११ वटा खण्डलाई जोडेर चत्रपथ निर्माण गरिएको हो । फिदिम चत्रपथका लागि विभिन्न तीन वटा विकल्पसहित ट्र्याक खोल्ने कार्य पूरा भएको नगरपालिकाका इन्जिनीयर प्रेमबहादुर काफ्लेले जानकारी दिए । तीन वटा विकल्पबाट नगरपालिकाले एउटालाई फिदिम चत्रपथको रूपमा अगाडि बढाउने छ ।

चक्रपथका तीन विकल्पमध्ये पहिलो ९६.३ किलोमिटर तथा दोस्रो र तेस्रो समान ९८.८ किलोमिटर लम्बाइका छन् । फिदिम चत्रपथमा १२.४ किलोमिटरको भञ्ज्याङ–जेभाले–जरिङ्गे सडक, १०.५ किलोमिटरको फेउदिन–चुल्ठे–मिश्रडाँडा–सातघुम्ती–थाङ्नपा सडक, ६.८ किलोमिटरको फिदिम–फालोट सडकको फेउदिन–फिदिम खण्ड, १०.९ किलोमिटरको जरिङ्गे–मगरचेप्पा–खलङ्गा–फासिङ्ला–थाङ्नपा सडक, १९.९ किलोमिटरको जोरसाल–हेवाखोला–पच्चिसे–थाङ्नपा सडक, ८.४ किलोमिटरको जोरसाल–सिवादोभान सडक, २४.५ किलोमिटरको कान्छीदोकान–नवमीडाँडा–सिवादोभान सडक, ५.६ किलोमिटरको मेची राजमार्गको कान्छीदोकान–पौवाभञ्ज्याङ खण्ड, १७.२ किलोमिटरको पौवाभञ्ज्याङ–डाँडागाँउ–फुल्पा–भञ्ज्याङ सडक, २.६ किलोमिटरको मेची राजमार्गको फिदिम–जोरसाल खण्ड र ७.९ किलोमिटरको थाङ्नपा–तृतीया–फेउदिन सडक छन् । चत्रपथमा मेची राजमार्गको पौवाभञ्ज्याङ–कान्छीदोकान खण्ड र फिदिम–हेवाखोला खण्ड तथा पुष्पलाल ९मध्यपहाडी० लोकमार्गको जोरसाल–सरखण्डे खण्ड कालोपत्रे सडक समेटिएको छ । यस्तै प्रदेश र सङ्घीय सरकारबाट कालोपत्रे निर्माण भइरहेका फिदिम–फालोट सडक, सिवादोभान–नवमीडाँडा सडकका विभिन्न खण्डसमेत नगर चत्रपथमा समेटिएका छन् ।

कालोपत्र बाहेकका समेत अधिकांश खण्डको सडक ट्र्याक यसअघि नै निर्माण भइसकेको थियो । नगरपालिकाले केही नयाँ सडक थप गर्नुका साथै पुराना ट्र्याकहरुको विस्तार तथा स्तरोन्नति गरी चत्रपथ निर्माण कार्यलाई मूर्तरूप प्रदान गरेको हो । नगर चत्रपथका तीन विकल्पमध्ये पहिलो र तेस्रो विकल्पमा सबै ट्र्याक खोलिएको छ भने दोस्रो विकल्पमा थाङ्नपा–तृतीया–फेउदिन खण्डमा केही ट्र्याक खोल्न बाँकी रहेको इन्जिनीयर काफ्लेले बताए । “दोस्रो विकल्पअन्तर्गत समेत यसैवर्ष ट्र्याक निर्माण पूरा हुन्छ”, उहाँले भन्नुभयो, “तीन वटा विकल्पबाट चत्रपथको ट्र्याक यकिन हुने बित्तिकै चत्रपथ विस्तार र स्तरोन्नतिको चरणमा पुग्छ ।”

फिदिम नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि चत्रपथ निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको थियो । चत्रपथले नगरपालिकाका १४ वटै वडाबाट जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको सेवा केन्द्रसम्म सहज सडक पहुँच विस्तार गर्ने नगरपालिकाको अपेक्षा छ । नगर चत्रपथ निर्माणले फिदिम नगरपालिकाको विकासलाई एकीकृतरूपमा अघि बढाउन, सबै वडासम्म सहज सडक पहुँच पुर्याउन तथा सबै वडासम्म कालोपत्रे सडक विस्तार गर्ने बाटो खोलिने नगरपालिकाले विश्वास लिएको छ । ट्र्याक खोल्ने कार्य पूरा भएपछि नगरपालिकाले चत्रपथको स्तरोन्नति र कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखी अगाडि बढाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो । फिदिम नगरोन्मुख गाविससहित फिदिम नगरपालिकामा साविकका चोकमागू, सिवा, लुम्फाबुङ, रानीटार, लुङरुपा, नांगीन गाविस र याङनाम गाविसको आधा भाग समेटिएको छ । फिदिम नगरपालिकामा १४ वटा वडा छन् भने यहाँको जनसङ्ख्या ४९ हजार २०० छ । रासस

(सांकेतिक तस्वीर)