असोज २, सिन्धुली ।
सरकारले आवासविहीन मुसहरसहितका दलित समुदायका लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको ३ सय ५५ घर शुक्रबार हस्तान्तरण गर्ने भएको छ । लाभग्राहीहरूलाई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरेका घरहरू आज मुख्यमन्त्री पौडेलले मुसहरहरूलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए ।
प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत अतिसीमान्तकृत मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गरेको हो । बस्ती निर्माणका लागि सरकारले सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ७ र ९ मा दुई करोड रूपैयाँ विनियोजन गरेको थियो ।
निर्माण गरेका ३ सय ५५ घर संविधान दिवसका अवसरमा हस्तान्तरण गर्न लागिएको हो । प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत अतिसीमान्तकृत माझी तथा चेपाङ समुदायका लागि समेत एकीकृत बस्ती निर्माण गरेको मन्त्री फुयाँलले बताए ।
सिन्धुलीबाहेक प्रदेश सरकारले दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि दुई करोड, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ का लागि दुई करोड ५० लाख र सिन्धुपाल्चोकको इन्द्रावती–५ मा प्युघर भदौरे एकीकृत माझी बस्ती विकासका लागि एक करोड रूपैयाँ छुट्याएको छ ।
सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्ती विकास कार्यक्रमका लागि ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि ४० लाख र धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि ४५ लाख रूपैयाँको बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । (रासस)







