असोज २, डोल्पा ।
उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन सकेको छैन । जस कारण सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ ।
उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज पाण्डेले बताए । ‘एक वर्षदेखि कत्ति पनि चामल पठाउन सकिएको छैन । त्यहाँको उत्पादनले पुग्दैन, यहाँबाट नपठाउँदा खाद्यान्न अभाव हुन्छ’, उनले भने ।
उपल्लो डोल्पाका बासिन्दाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहरतारा र तिन्जेमा बिक्री केन्द्र राखेको छ । दुवै डिपोबाट तीन हजार क्विन्टल चामल बिक्री हुँदै आएको छ । त्यहीँबाट स्थानीयवासीले खरिद गर्दै आएका थिए तर एक वर्षदेखि भने दुवै बिक्री केन्द्र रित्ता छन् ।
गत वर्ष उपल्लो डोल्पाका बासिन्दाले हिँडेरै सदरमुकाम दुनै, जाजरकोट र रुकुम पश्चिम पुगेर चामल लगेका थिए । यस वर्ष भने कोरोनाका कारण छिमेकी जिल्लाका बजारसम्म पनि आउन नसकेको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टासी तुन्डुप गुरुङले जानकारी दिए ।
‘कोरोनाका कारण आवतजावत रोकिएकाले उपल्लो डोल्पावासी बाहिर निस्किन सकेका छैनन् । सरकारले पनि चामल ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ’, उनले थपे, ‘धेरै ढिलो भइसक्यो । अब हवाईमार्गबाट ढुवानी गर्नुपर्छ । तत्काल ढुवानी भएन भने उपल्लो डोल्पाका बासिन्दाले भोकै बस्नुपर्ने अवस्था आउँछ ।’
उपल्लो डोल्पाका लागि काठमाडौँबाट सोझै चीन भएर खाद्यान्न ढुवानी गरिँदै आएको थियो । कोरोना महामारीका कारण केरुङ नाका बन्द भएपछि त्यहाँ चामल ढुवानी हुन सकेको छैन ।
चीनको बाटो भएर डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्लादेखि तिन्जेसम्म चामल ढुवानी हुने गथ्र्यो । त्यहीँबाट अन्यत्र वितरण गर्ने गरिएको भए पनि गत आर्थिक वर्षभर चामल गएको छैन । डोल्पोबुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गरी उपल्लो डोल्पामा तीन स्थानीय तह छन् ।
अझ माथिल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका नागरिकले तीन आर्थिक वर्षदेखि सरकारी अनुदानको चामल पाएका छैनन् । तिन्जे बिक्री केन्द्रबाट उक्त गाउँपालिका वासीले चामल ढुवानी गर्न नसक्ने र मुस्ताङ वा दुनैबाट ढुवानीको व्यवस्था गराउन आग्रह गरे पनि सुनुवाइ नभएपछि चामल नपाएको गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले बताए ।
डोल्पा सदरमुकाम र आसपासका बिक्री केन्द्रमा भने चामल थुप्रिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख पाण्डेका अनुसार सदरमुकाम दुनैमा एक हजार दुई सय ८०, जुफालमा एक हजार दुई सय, सर्मीमा दुई सय ९९ र काइगाउँमा एक हजार क्विन्टल चामल मौज्दात छ । गत आर्थिक वर्षमा ढुवानी हुन नसकेपछि यस आर्थिक वर्षका लागि त ठेक्का पनि भएको छैन ।
उपल्लो डोल्पामा असोजदेखि हिमपात सुरु हुन्छ । त्यसपछि हवाईमार्गबाट पनि ढुवानी गर्न सक्ने अवस्था रहँदैन । यस महिनाभित्रै जसरी पनि ढुवानी गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । आफूले सकभर छिट्टै चामल ढुवानीका लागि पहल गरिरहेको उनले जानकारी दिए ।
चामल पठाउन आपूर्तिमन्त्रीलाई पत्र
चामल कहिले पुग्ने ठेगान नभएपछि उपल्लो डोल्पाका तीन स्थानीय तहले हेलिकोप्टरमार्फत तत्काल खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र पठाएर तत्काल हवाईमार्गबाट चामल ढुवानी गर्न आग्रह गरेको बताएका छन् ।
डोल्पोबुद्ध गाउँपालिकाले पठाएको पत्रमा तत्काल हवाईमार्गबाट उपल्लो डोल्पाको मरिम्ला र तिन्जेसम्म खाद्यान्न ढुवानी गर्न आग्रह गरिएको छ । स्थानीय उत्पादन आलु तथा उवालाई सलह र असिनाले क्षति पुर्याएकाले समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमराज खड्काले बताए ।
घोडा, खच्चड र आफैले बोकेर ल्याएको अन्न रित्तिएपछि उपल्लो डोल्पामा तीन स्थानीय तह सङ्कटमा परेको फोक्सुन्डो गाउँपलिका–४ का पसी गुरुङले बताए । (रासस)







