विश्वमा ‘कोभिड १९’ संक्रमित तीन करोड तीन लाख

सबैभन्दा बढी संक्रमण र मृत्यु अमेरिकामा

असोज २, काठमाडौं ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड तीन लाख नाघेकोे छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतकको संख्या साढे ९ लाख भन्दा बढी भएको छ ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट संक्रमित दुई करोड २० लाख ४६ हजार चार सय ८८ व्यक्ति कोरोना मुक्त भएको विश्वविद्यालयले जनाएको छ । उक्त भाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकमा भएको छ ।

हालसम्म अमेरिकामा ६८ लाख ७४ हजार पाँच सय ९६ भन्दा बढी संक्रमित भएको तथ्यांक छ । यसैगरी दुई लाख दुई हजार दुई सय १३ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ ।

दोस्रो धेरै संक्रमित हुने देशमा भारत छ । तेस्रो बढी संक्रमण ब्राजिलमा देखिएको विश्वविद्यालयको अध्ययनले देखाएको छ । तर मृतकको संख्याको हिसाबले भने ब्राजिल दोस्रो स्थानमा र भारत तेस्रो स्थानमा छ ।

भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख नाघेको बताइएको छ । ब्राजिलमा १ लाख ३५ हजार ३१ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८४ हजार चार सय चार जनाको मृत्यु भएको छ ।

रुस १० लाख ८५ हजार दुई सय ८१ संक्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा सात लाख ५० हजार ९८ व्यक्तिमा संक्रमण देखिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा संक्रमण बढ्दो क्रममा छ ।