कांग्रेस सांसदको चुनौती– ७ प्रतिशत आर्थिक वृद्धि भए राजनीति छोडिदिन्छु

१८ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न नसकिने बताएका छन् ।

राष्ट्रियसभाको आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारलाई वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न चुनौती दिए ।

‘अहिले सबभन्दा ठूलो च्यालेन्ज भनेको देशमा इकोनोमिक क्रियाकलापलाई अगाडि बढाउनुपर्ने हो, एउटा आर्थिक पुनरुत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो मेरो चुनौती छ नेपाल सरकार र अर्थमन्त्रीलाई यदि ७ प्रतिशतको जीडीपीको ग्रोथ रेट २०७७/०७८ मा आयो भने म राजनीति छोडिदिन्छु ।’

बैठकमा सांसद देवले बजेट कुन वर्गका लागि आएको हो भन्दै प्रश्न गरे ।

‘यो समाजको सुकिला मुकिलाहरुको मात्रै बजेट हो कि, यो समाजको सुट र टाई लगाउने वर्गको मात्रै बजेट हो कि यो समाजमा मुस्ताङी स्याउ जस्तो रातो रातो गाला भएकोहरुको मात्रै बजेट हो कि ?’ उनले भने ।

बजेटमा सीमान्तकृत, विपन्न र गरिब नागरिक कसैलाई नसमेटिएको उनले बताए ।