असोज २, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा अनुपस्थित हुने जनाएका छन् । उनी व्यक्तिगत रुपमा उपस्थित भइ भाषण गर्ने योजनाबाट पछि हटेको बताइएको छ ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसका मुख्य सचिव मार्क मेडोसले यस बारेमा पत्रकारहरूलाई जानकारी दिँदै राष्ट्रसंघीय महासभामा राष्ट्रपति ट्रम्पले भिडियोमार्फत सम्वोधन गर्ने तयारी भएको बताएका छन् । महासभा गत मंगलबारदेखि शुरु भइ सेम्टेम्बर ३० सम्म चल्नेछ ।
चीफ अफ स्टाफ मेडोजले दिएको जानकारी अनुसार अर्को साता हुन लागेको संयुक्त राष्ट्रसंघको महासभालाई विश्वका एक सय ७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । तर कोभिड–१९ को संक्रमण विश्वमा नै नरोकिएका कारण यस वर्षको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिँदैछ ।
महासभामा अहिले उच्चस्तरीय विभिन्न अन्तरक्रिया तथा छलफलहरु भइरहेको अधिकारीहरुले जनाएका छन् । महासभामा विश्वका एक सय १९ राष्ट्र प्रमुख र ५४ जना सरकार प्रमुखहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि मध्य अगस्टमा राष्ट्रपति ट्रम्पले महासभास्थलमै पुगेका आफू सहभागी हुने योजना रहेको बताएका थिए । तर त्यो योजना अहिले परिवर्तन भएको हो ।
कोरोनाभाइरसको महामारीका कारण विश्वभरी नै नकारात्मक असर गरिरहेका बेला पनि विद्युतीय माध्यमबाट महासभा सञ्चालन गरिएको हो । (एजेन्सी)







