मौसमः आइतबारदेखि मात्रै मौसममा सुधार आउने

मंसिर, ४ काठमाडौं । तीन दिनदेखि बदलाब भएको नेपालको मौसम आइतबारदेखि सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

तीन दिनदेखिको मौसम धुम्म हुँदा पारिलो घाम लागेको छैन । काठमाडौँ उपत्यकामा शुक्रबार बिहान ६:३० मा ११ दशमलव १ डिग्री सेल्सियस मापन गरिएकोमा आज शनिबार बिहान न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

तीन दिनदेखि मौसम नखुल्दा चिसो मात्र बढेको छैन, प्रदूषण पनि बढाएको छ । छिटपुटबाहेक पानी पनि पर्न सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतीभा मानन्धरका अनुसार अहिलेको प्रणाली बाहिरिए पनि अर्को प्रणालीका कारण अझै केही समय बदली तथा तुवाँलोका समस्या बढ्दै जानेछ । तथापि अहिलेको धुम्मपन क्रमश हट्दै जाने र आइतबारसम्म मौसम सामान्य हुन सक्ने अनुमान गरिएको उनले बताइन् ।

आज बिहान काठमाडौँ उपत्यकामा हल्का घाम लागे पनि दिउँसो फेरि बदली हुने आकलन महाशाखाले गरेको छ ।

‘प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,’ उनले भनिनन्, ‘ तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।’

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मतीमा बदली छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।