असोज ३, काठमाडौं ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान निर्माण पश्चात देशमा राजनीतिक स्थिरता कायम भएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
‘मुलुक विकास निर्माण, अग्रगति, प्रगति र समृद्धिको दिशातर्फ अघि बढेको छ र हामीहरु समाजवादतिर अघि बढ्न कृतसंकल्पित छौँ’, पूर्वप्रधानमन्त्री खनालले सन्देशमा भनेका छन्, ‘यी सबै संविधान निर्माणपश्चात् हामीले गरेका असाधारण उपलब्धिहरु हुन् ।’
उनले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देशमार्फत उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न आग्रह गरेका हुन् ।
संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा दिने उनको भनाइ छ । नेपाली जनताको सात दशक लामो अथक संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप सामन्तवादको प्रतीकको रूपमा रहेको राजतन्त्रलाई सदाको लागि अन्त्य गर्दै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत भएको उनले उल्लेख गरेका छन् ।
संविधानकै अनुसार समावेशी ढंगको निर्वाचन प्रणालीमार्फत केन्द्रीय, प्रदेश र स्थानीय तहहरुको निर्वाचन गरी सरकार गठन गरेर देशमा राजनीतिक स्थिरता कायम भएको उनको सन्देशमा भनिएको छ ।







