काठमाडौं । विभागीय मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेन्टहरुको ठगिबाट जोगिएका छन् ।
भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेन्टले अवैध ढंगले रकम असुल्न खोजेको सूचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका हुन् ।
वैदेशिक रोजगारीमा जान चाहनेहरुले एजेन्टबाट भोग्नुपरेका समस्याका बारेमा सञ्चारमाध्यममा समाचार आउने गरे पनि त्यसबारे मन्त्री स्वयम्ले चासो देखाउने गरेका थिएनन् । तर मन्त्री श्रेष्ठ भने कोरिया पठाउँदै आएका एजेन्टले बन्धक जसरी राखेका युवालाई भेट्न आफैँ होटल पुगेका थिए ।
मंगलबार राति मन्त्रीको मोबाइलमा आएको सूचनाका आधारमा उनी सुरक्षाकर्मी, श्रम विभागका अधिकारीसहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुगेका थिए । बुधवार साँझ कोरिया उड्न लागेका दजनौँ युवाहरुलाई अनिवार्य सातदिन क्वारेन्टीन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा जर्बजस्त राखिएको थियो । पीडित युवाहरुले आफूहरुलाई एजेन्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसँग गरेका थिए ।
पीडीतहरुको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारबाही गर्न निर्देशन पनि दिए । मन्त्री श्रेष्ठले भने– ‘म पैसा कमाउन मन्त्री भएको मान्छे होइन, केही गर्न मन्त्री भएको मान्छे । जो जो सँग सात दिनको पैसा लिनुभएको छ, सबको फिर्ता गर्नुस् । अब तपाईँलाई मर्का पर्यो होला, कसले एग्रिमेन्ट गर्यो ऊ सँग माग्नुस् । यो भाइबैनीहरुसँग माग्ने होइन ।’
वैदेशिक रोजगारीमा जाने युवाहरुले भोग्नुपरेको समस्याबारे थप छानविन हुने र भविश्यमा यसता दुख भोग्न नपर्ने वातावरण निर्माण गर्ने आवश्वासन दिए ।







