एकै दिन १६६ जना कोरोनाबाट सङ्क्रमित

थप दुई जनाको मृत्यु

८ जेठ, काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन १६६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १६६ जनामा सङ्क्रमण देखिएको बताए । ती सङ्क्रमितमध्ये पुरुष १६२ र महिला चारजना रहेका छन् ।

शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै कूल एक हजार ५६७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये पुरुष एक हजार ४५० र महिला ११७ जना रहेका छन । आज देखिएकामध्ये नयाँ जिल्ला तनहुँ, सल्यान, कालीकोट र बाजुरा रहेका छन् ।

थप दुई जनाको मृत्यु

कोभिड–१९ बाट आज थप दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दैलेख र बाजुरामा एक एकजनाको मृत्यु भएको जानकारी दिनुभयो ।

योसँगै कोभिड–१९ को कारणले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । दैलेखका दुल्लू नगरपालिका–११ का ३५ वर्षीय पुरुष स्थानीय विद्युत् प्राधिकरणको क्यारेन्टिनमा बसेको मृत्यु भएको थियो । उनको स्वाब सङ्कलन गरेर रिपोर्टमा सङ्क्रमण देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । उनको हिजो निधन भएको थियो ।

यस्तै बाजुरा जिल्लामा पनि मृत्यु भएकी दुई वर्षीय बालिका पनि सङ्क्रमण भएको पुष्टि भएको छ । बालिकामा ज्वरो, झाडाबान्ता र श्वासप्रश्वासमा समस्या आएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो ।

बालिकाको यही जेठ १६ गते स्वाब सङ्कलन गरेर सेती प्रादेशिक अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको थियो । बालिकाको आजै बिहान २ः३० बजे निधन भएको थियो । उहाँका अनुसार बालिका गत जेठ १० गते आमाबुबासहित नेपाल आएकी थिइन् ।