एमसीसीमा एमालेको द्वैध रणनीति

पुस, २ काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता (एमसीसी)लाई लिएर एमालेले द्वैध रणनीति लिने तयारी गरेको छ । एकातिर सिनियर नेताहरुले पास गर्न उक्साउने र अर्कोतिर जुनियर नेताहरुले विरोध गर्दै जनमत बटुल्ने ।

पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत सिनियर नेताहरुले एमसीसीलाई संसदमा लैजान र पास गर्न प्रमुख सत्ताघटक नेपाली कांग्रेस र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिरहेका छन् ।

अर्कोतिर कतिपय नेताहरुले ‘एमसीसी यथास्थितिमा पास गर्न हुँदैन’ भन्दै जनमत बटुल्ने एमाले रणनीति छ । यसको अन्तर्य–आगामी चुनावमा भोट बटुल्ने नै भएको स्वयं एमाले नेताहरु स्वीकार्छन् ।

‘केपी ओली लगायत सिनियर नेताले एमसीसीको विरोध गर्ने नैतिक आधार छैन । किनभने हामी सरकारमा हुँदा पास गर्न खोजेकै हो’ एमालेकै एक नेता भन्छन्, ‘संसदमा एमसीसी पुगेपछि हामी व्यापक विरोध गर्छौं । हाम्रो विरोधले आगामी चुनावमा एमालेको १० लाख भोट बढ्छ ।’

एमसीसी पास गर्ने वा नगर्नेमा एकढिक्का हुँदा सत्ता गठबन्धनलाई एमालेको साथ आवश्यक पर्दैन । २७५ सदस्यीय प्रतिनिधि सभामा हाल २७१ सदस्य छन् । जसमा एमाले ९८ सांसद छन् । कांग्रेसका ६३, माओवादी केन्द्रको सभामुखसहित ४९ जना, नेकपा एकीकृत समाजवादीका २३, जसपाका २० जना, लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना, राष्ट्रिय जनमोर्चाका एक, नेमकिपाका एक, राप्रपाका एक र स्वतन्त्र सांसद् एक जना छन् । अहिले विपक्षीका रुपमा एमाले, लोसपा र नेमकिपा मात्रै छन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई पनि सत्ता गठबन्धन एकढिक्का हुँदा एमसीसीका सन्दर्भमा निर्णय गर्न सरकारलाई एमालेको निर्णयको खास अर्थ नहुने बताउँछन् । एमालेले सत्ता गठबन्धनले एकीकृत निर्णय के लिन्छ भनेर कुरिरहेको उनको भनाइ छ ।

‘उहाँहरुको १६५ सांसद छँदैछ । उहाँहरुले १६५ लाई एकढिक्का राख्न सक्नुहुन्छ कि हुन्न हामी हेर्छाैं । त्यसपछि एमालेले आफ्नो कदम चाल्छ’ प्रमुख सचेतक भट्टराईले भने । तर, एमाले एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा नरहेको भट्टराईको भनाइ छ ।

‘यथास्थितिमा एमसीसी पास गरेर जाने पक्षमा हामी छैनौं’ भट्टराई भन्छन्, ‘सत्ता गठबन्धन एमसीसी पास गर्ने पक्षमा देखियो भने हाम्रो भूमिका के रह्यो र ? त्यसकारण उहाँहरुको एकीकृत धारणा बनोस् पहिले ।’

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ एमसीसीबारे आफूहरु औपचारिक रुपमा बोल्न नै तयार नरहेको बताउँछन् । एमसीसीबारे एमालेको धारणा के हो ? पास गर्न साथ दिने कि फेल ? भन्ने प्रश्नमा नेम्वाङको जवाफ छ, ‘हामी आन्दोलनमा छौं ।’ आफूहरुको चाहना सरकारले एमसीसीलाई के गर्ने भनेर निर्णय गरेर संसदमा ल्याओस् भन्ने रहेको उनको भनाइ छ । र संसदमा आइसकेपछि के गर्ने भनेर त्यतिबेलै एमालेले निर्णय गर्ने उपनेता नेम्वाङको भनाइ छ ।

‘सरकारले प्रस्ताव राखेको छैन, अगाडि बढाएको छैन । अगाडि बढाओस् अनि एमालेले निर्णय गर्छ’ उनले भने । सरकारले अगाडि बढाए एमालेले पक्षमा मतदान गर्छ कि विपक्षमा ? भन्ने प्रश्नको जवाफमा पनि उनले उही जवाफ फर्काए, ‘हामी आन्दोलनमा छौं ।’

नाराबाजी र ध्वनि मत

एमालेको चाहना– एमसीसी संसदबाट ध्वनि मतका आधारमा पास भएको घोषणा गरियोस् भन्ने छ । आफूहरुले नाराबाजी गरिरहने र सभामुखले एमसीसी संसदमा टेबुल गर्न र पास गर्न सरकारलाई समय दिएर ध्वनि मतका आधारमा पास भएको घोषणा गरे आफूहरुका लागि त्यो उत्तम हुने उनीहरुको बुझाइ छ ।

‘ध्वनि मतका आधारमा पास भयो भनियो भने एमालेका लागि त्यो साह्रै राम्रो हुन्छ । हामी बाहिर आएर विरोध गर्छौं, जनता एमसीसीका पक्षमा छैनन् त्यसकारण एमालेले एमसीसी पास गर्न साथ दिएन भन्छौं । मुख्य मुुख्य शहरमा विरोधका कार्यक्रम गर्छौं’ एक नेता भन्छन्, ‘यसमा हामी प्रष्ट छौं ।’

एमालेकै एक शीर्ष नेताका अनुसार एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दबावमा छन् । त्यसकारण दुबै पार्टीले ह्वीप लगाउन सक्ने सम्भावना रहन्छ ।

यस्तो हुँदा माओवादी केन्द्रका केही सांसदहरुले अनुपस्थित भएर असहयोग गर्न सक्छन् । माधव नेपाललगायतले पनि असहयोग गर्दा एमालेको भूमिका के हुने ? भन्ने प्रश्न आउने हो ।

एमालेले २३ भदौ २०७८ देखि संसदमा निरन्तर अवरोध गर्दै आएको छ । अघिल्लो अधिवेशनमा संसदको कुनै पनि काम कारबाहीमा भाग नलिएको एमालेले मंगलबार शुरु भएको अधिवेशनमा पनि अवरोधको नीतिलाई जारी राख्यो ।

अब एमसीसी अगाडि बढाउँदा संसदको अवरोध एमालेले खुलाउन सक्ने, पक्षमा मतदान गर्न सक्ने कतिपयको आंकलन छ । किनभने एमाले नेतृत्वको सरकारले नै एमसीसी पास गर्न खोजेको थियो । एमाले सचेतक शान्ता चौधरी एमसीसीका लागि भनेर संसदको अवरोध नखुल्ने बताउँछिन् । ‘हामीले एमसीसीको विषयलाई लिएर अवरोध गरेको हो र ? होइन नि त्यसकारण सरकारले एमसीसी अगाडि बढाउन खोज्यो वा बढायो भनेर संसदको अवरोध खुल्छ भन्ने हुँदैन, खुल्दैन ।’