असोज ४, काठमाडौं ।
इंग्ल्याण्डमा आइसोलेसनका नियम तोड्नेलाई १५ लाख रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने सरकारको नियम छ । त्यहाँको नयाँ कानूनी कर्तव्य अनुसार कोरोना भाइसर संक्रमित व्यक्तिले सेल्फ आइसोलेसनमा बस्दा नियम तोडेमा १० हजार पाउण्डसम्म जरिवाना तिर्नुपर्ने भएको छ ।
त्यहाँको नयाँ कानून अनुसार संक्रमण देखिएको वा लक्षण मिल्दोजुल्दो भएको व्यक्ति आइसोलेसनमा बस्नुपर्नेछ । संक्रमण बढेपछि प्रधानमन्त्री बोरिस जन्सनले यस्ता नियम ल्याएका हुन् । जसअन्तर्गत कम आय हुनेलाई रोजगारदाताले पाँच सय पाउन्ड सहायता दिनुपर्नेछ । यस्तो अवस्थामा बिदा नदिने रोजगारदातालाई समेत कारवाही हुने कानूनी व्यवस्था ल्याइएको छ ।
सुरुमा नियम नमान्नेलाई एक हजार पाउन्ड जरिवाना तोकिएको छ । दोस्रो पटक पनि नियम उल्लंघन गरेमा १० हजार पाउन्डसम्म जरिवाना लिन सकिने व्यवस्था छ । यस अघि सेल्फ आइसोलेसनमा बस्न सुझावमात्र दिइएको थियो भने हाल यसलाई कानून अन्तर्गत ल्याइ कडा रूपमा लागू गर्न खोजिँदैछ ।
इंग्ल्याण्डका प्रधानमन्त्री जन्सनले भाइरससँग लड्ने उत्तम उपाय नै कानूनको पालना भएको बताएका छन् । नियम नमाने जरिवानाको सामना गर्नुपर्ने उनले पत्रकारहरूलाई बताएका छन् । (एजेन्सी)







