११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतवारबाट महाधिवेशन शुरु हुँदैछ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विकल्प देखिन्छन् ।
अध्यक्षपछिको कार्यकारी पद महासचिवमा को आउँछ ? यकिन छैन् । माओवादी केन्द्रमा महासचिवका प्रमुख दावेदार हुन– वर्षमान पुन ‘अनान्त’, जनार्दन शर्मा ‘प्रभावकर’ र पम्फा भुसाल ‘विद्युत’ ।’ महासचिवका प्रबल दाबेदार वर्षमान पुन महाधिवेशनमा सहभागी हुन नसक्ने भएका छन् । चीनमा उपचाररत पुन महाधिवेशनमा आउन चाहान्थे ।
तर उनको कलेजोमा जण्डिसको मात्रा कायमै रहेको र शक्रुवारमात्रै चिकित्सकले थप उपचार थालेकाले नेपाल यात्रा रोकिएको छ । यो बेला वर्षमान पुन निकट नेता कार्यकर्ताले उपचारका क्रममा रहेका पुनलाई महाधिवेशनको हलबाटै महासचिव घोषित गर्न अध्यक्ष प्रचण्डलाई दबाब बढाएका छन् । संगठन विभाग प्रमुख शर्मा महासचिवका अर्का प्रमुख दावेदार हुन् ।
शर्मा र पुन दुवै नेता प्रचण्डपछिको नेता आफू हो भन्ने छनक दिनेगरी नेता कार्यकर्ताहरुसँग प्रस्तुत हुने गरेका छन् पनि । अर्थात, माओवादीमा अध्यक्षपछिको कार्यकारी पद महासचिवमा नेता प्रभाकर र अनन्तको अघोषित प्रतिस्पर्धा छ ।
एकातिर संगठन विभाग प्रमुखको जिम्मेवारी लिएर अगाडि बढेका कारण अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले माओवादी पछि पार्टीको नेतृत्वका लागि आफूलाई विकास गर्दै लगेको तर्क गर्नेहरु छन् । स्वयम् शर्मा पनि आफूले पार्टीमा प्रचण्डपछिको भूमिका निर्वाह गर्दै आएको बताउँछन् । ‘केपी ओलीको प्रतिगमनका विरुद्ध पार्टीका सबैभन्दा बढी मै लडेको हुँ ।
पार्टीका तर्फबाट नेतृत्वका हिसाबले पचण्डपछि मै लडेको हुँ । म पार्टीलाई कसरी बलियो बनाउने भन्ने ध्याउन्नमा छु,’ नेता शर्माले २०७८ असोज पहिलो सातामा भएको एक भेटमा भनेका थिए । स्थायी कमिटीको बैठकमा पार्टीको पक्षमा ३० लाख संगठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ संगठनात्मक फर्मुला समेत प्रस्तुत गरेको उनले सुनाए ।
अर्थात्, माओवादी केन्द्रलाई थप बलियो र शसक्त बनाउने भिजन आफुमा रहेको भन्दै उनी नेता कार्यकर्तालाई माओवादी केन्द्रमा प्रचण्डपछिको नेता आफू भएको सन्देश दिन खोजिरहेका छन् । उता वर्षमान पुन प्रचण्डपछिको नेताका रुपमा अगाडि आउन खोजिरहेका छन् । हाल केन्द्रीय कार्यालय इन्चार्ज र अर्थ तया योजना विभाग प्रमुखको जिम्मेवारीमा छन् । उनको जोडबल कार्यकर्तालाई प्रचण्डपछि मै नेता हुँ भन्नेमा केन्द्रीत छ ।
आफु यसअघि नै पार्टीको सचिव भइसकेको, देशभरको संगठनमा आफ्नो पकड रहेको र बाह्य (अन्र्तराष्ट्रिय) सम्बन्धमा अरु नेताहरुभन्दा आफु अगाडि रहेको नेता पुनको तर्क कार्यकर्ताहरुसंगको अनौपचारिक भेटमा प्रस्तुत हुन्छन् । हेडौंडा महाधिवेशनपछि वर्षमान सचिव बन्दा शर्मा स्थायी कमिटी सदस्य थिए । ‘राजनीतिक नेतृत्व लिन र पाउन बिचार, आन्तरिक र बाह्य सन्तुलन अति आवश्यक हुन्छ । आफुलाई त्यसैगरी अगाडि लैजानुपर्छ ।
मेरो जोडबल पनि यहि हो’ नेता पुनले भन्ने गरेका छन् । ७७ मध्ये ४० बढी जिल्ला अध्यक्ष आफ्नो पक्षमा रहेको उनको जिकिर छ भने अन्र्तराष्ट्रिय सम्बन्ध राम्रो छ भन्दा कुटनीतिक र बाह्य भेटघाटलाई देखाउने गर्छन । नेता पुनलाई प्रचण्डपछिको नेता बनाउनुपर्छ भनेर लागेका तेस्रो तहका कतिपय नेताहरु पनि बर्षमान कार्यकर्ता व्यवस्थापन अब्बल रहेको दाबी गर्छन् । अरु को को आकांक्षी ? महासचिवमा प्रभावकर, अनन्त र विद्युतको दावेदारी प्रवल रुपमा प्रस्तुत भएको भए पनि यो पदका आकांक्षी भने अरुहरु पनि छन् ।
जनययुद्धका बेला प्रचण्ड र डा. बाबुराम भट्टराईपछि वर्षमान पुन, जनार्दन शर्मा, नेत्रविक्रम चन्द ‘विप्लव’, शक्तिबहादुर बस्नेत लगायतलाई लिइन्थ्यो । तर, अहले माओवादी केन्द्रमा डा. भट्टराई र विप्लव छैनन् । बाँकी रहेका नेता पुन र प्रभाकर गुट बनाएरै अगाडि बढेका छन् । जो चुनाव लडेर भएपनि महासचिवमा दावेदारी कायम राख्ने मुडमा देखिन्छन् ।
माओवादीभित्र नारायणकाजी श्रेष्ठको पनि आफ्नै खालको गुट छ । यसका अलावा कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल लगायतका नेताहरु पनि महासचिवका आकांक्षी हुन् । तर, उनीहरु सहमतिमा होस र आफ्नो नाममा महासचिव पद आओस् भन्नेमा देखिन्छन् ।







