प्रचण्डपथ किन ?

१२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दे ‘प्रचण्डपथ’को बहस छेडेका छन् । ‘माओवादी जनयुद्धले स्थापित गरेको विचार प्रचण्डपथ हो । यसलाई विचार गर्नुको साटो हामीले छाडिदियौँ क्रान्ति रनभुल्लमा पर्यो’ यादवले भनेका छन् ।

नेता यादवको महाधिवेशन हलबाटै प्रचण्डपथको वकालत गरेपछि माओवादी नेताहरु जारी महाधिवेशनमा ‘प्रचण्डपथ’बारे थप बहस गर्नेवाला छन् । शान्ति प्रक्रियामा आएपछि छोडेको प्रचण्डपथमाथि अहिले फेरि बहस किन ? भन्ने प्रश्नमा माओवादी केन्द्रका नेताहरुका आ–आफ्नै तर्क छन् ।

प्रचण्डपथ छोडेर अर्को बिचारको बाटो तय नर्गदा वैचारिक अकर्मन्यता भएकाले पुनः प्रचण्डपथमाथिको बहस गर्नुपरेको बताउँछन् पार्टीको संगठनविभाग प्रमुख जनार्दन शर्मा ‘प्रभावकर ।

‘प्रचण्डपथको आह्वानमा मान्छे जुर्मुराएर आए, राजतन्त्रलाई धुलो चटाए’ उनी भन्छन्, ‘प्रचण्डपथ छोड्दा अर्को यो है बाटो भनेर तय गर्नुपर्थ्यो । त्यसो नगर्दा वैचारिक अकर्मन्यता भयो, जसका कारण केही क्षयीकरण भयो । पार्टी फुट्यो अन्तरविरोध बढ्यो । विविध समस्या आए ।’

जनयुद्धबाट खुला राजनीतिमा आइसकेपछि माओवादीले गरेका मुख्य गल्तीमध्ये एउटा प्रचण्डपथ त्याग्नु रहेको उनको भनाई छ । जनयुद्ध सुरु भएदेखि यताको २५ वर्ष प्रचण्डले अगाडि सारेका विचारहरुमा देश चलेको उल्लेख गर्दै नेता शर्मा थप्छन्, ‘शान्ति प्रक्रियाको मिसन, संविधान निर्माणको सिमन, राज्य पुनर्संरचना, समावेशी समानुपातिक प्रतिनिधित्वसहित नयाँ लोकतन्त्रको अवधारण पनि हामीले ल्याएका हौं ।’ पुनः प्रचण्डपथबारे बहस गर्नुपको आर्थ पार्टीलाई अगाडि बढाउने नयाँ बिचार खोजिएको रुपमा बुझ्नुपर्ने उनको तर्क छ । ‘अहिले फेरि प्रचण्डपथ भन्नुपर्छ भनेको पनि होइन, नयाँ विचार चाहियो भनेको हो’ प्रभावकरले भनेका छन् ।

जनयुद्धमा रहेकैबेला २०५७ साल माघ २६ गतेदेखि फागुन १ गतेसम्म भारतको भटिन्डा, पन्जावमा भएको तत्ककालिन नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथ पारित गरेको थियो ।

माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथ पारित गरेको माओवादीले सोही अनुसार वैचारिक राजनीतिक, सांगठनिक र फौजी कामकारबाही सञ्चालन ग¥यो ।

२०६३ सालमा शान्तिप्रकृयामा आएपछि पनि माओवादीले प्रचण्डपथ छोडेको थिएन् । २०६४ साल चैतमा पहिलो संविधानसभा चुनावमा भाग लिँदासम्म तत्कालिन माओवादीले प्रचण्डपथ छाडेको थिएन् । २०६५ साल मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरको खरीपाटीमा सम्पन्न राष्ट्रिय भेलाले पनि पार्टीभित्रको सहमतिका बाबजुत प्रचण्डपथलाई निरन्तरता दिएको थियो ।

तर, २०६५ पुस ३० गते नेकपा माओवादी र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेतृत्वको नेकपा एकता केन्द्रबीच पमर्टी एकता भएर एकता अधिवेशन भयो । जहाँ प्रचण्डले तत्कालका लागि प्रचण्डपथलाई स्थगित गर्ने प्रस्ताव राखे । र त्यो प्रस्ताव पारित भयो । त्यसयता माओवादीले प्रचण्डपथ नभनेर माक्र्सवाद–लेनिनवाद–माओवाद र विचारधारालाई पार्टीको पथप्रदर्शक सिद्धान्त मान्दै आएको छ ।

परिस्कृत गरेर ब्युँताउने प्रस्ताव

पार्टी एकता आदि प्रक्रियाले स्थगन गरेको प्रचण्डपथबारे अब समीक्षा, विश्लेषण र संश्लेषण गर्ने ठाउँमा आइपुगेको बताउँछिन् माओवादीका स्थायी कमिटी सदस्य पम्फा भुसाल । प्रचण्डपथबारे उनको थप व्याख्या छ, ‘हिजो स्थगन गरेको ठाउँमा फर्किएर मात्र पुगिन्न, अगाडि जानुपर्छ । त्यो यता विकशित भएको परिस्थितिबाट विचारलाई परिस्कृत गरेर जानुपर्छ ।’

प्रचण्डपथ भनेको युनिभर्सल ट्रुथका रुपमा नभएर नेपालको विशिष्ट विचारका रुपमा विकास भएको बताउँछन् अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल । तर, विभिन्न पक्षसँग एकता गर्नुपर्ने परिस्थिति र शान्ति प्रक्रियामा आएपछिका राजनीतिक मुद्धाहरुलाई पनि समेटेर लैजानुपर्ने अवस्थाका कारण प्रचण्डपथ स्थगित गर्नुपरेको उनको तर्क छ ।

‘हामीले प्रचण्डपथको विचारलाई अगाडि बढाउने, तर अरुले लिएको विचारलाई समेट्नुपर्ने भएकाले प्रचण्डकै प्रस्तावमा त्यसलाई स्थगन गरिएको हो । र एकता गर्दै जाँदा एमालेसँग एकता गर्ने स्थितिसम्म पनि पुग्यौं’ पौडेलले स्मरण गरे ।

नेता पौडेल थप्छन्, ‘प्रचण्डपथ स्थगन गरेर बढाइएको एकताले गलत कि ठीक ग¥यो भन्नेमा विश्वविद्यालयकै रुपमा शिक्षा दियो । विभिन्न एकताले शिक्षा दियो, त्यो एकीकरणसँगै जनयुद्धकै माओवादीहरु पनि विभाजित हुनु र टुटफुट हुनुले फरक प्रकारको शिक्षा दिएको छ ।’

तर, माओवादीले जतिबेला प्रचण्डपथ अंगीकार गरेको थियो त्यसबेला प्रचण्डपथको विरोध गर्ने र प्रचण्डपथको ठूला कुरा गर्नेहरुका पनि अनुभव आफुहरुले संगालिसकेको उनको भनाइ छ । ‘हिजो प्रचण्डपथका ठूला कुरा गर्ने साथीहरु पनि छोडेर जानुभयो । विचारधारा नै भन्ने साथीहरु अन्तै पुग्नुभयो । प्रचण्डपथको संश्लेषण गरेर प्रस्तावकै रहनुभएका साथीहरु पनि हुनुहुन्न । प्रचण्डपथ बढी भयो भन्ने साथीहरु फेरि यही हुनुुहुन्छ । यी अनुभव हुन्’ पौडेलले भने ।

माओवादी केन्द्रका नेताहरुका अनुसार तत्कालिन राज्यसत्तालाई झस्काउन, तत्कालिन राज्यसत्तालाई ढलाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विशेष जिम्मेवारी नेतृत्वमा रहनेगरी ल्याइएको तत्कालिक कार्यनीति हो प्रचण्डपथ ।

एक नेता भन्छन्, ‘फलाम काट्ने फलामले हो भन्छन नि हो त्यस्तै हो प्रचण्डपथ । तत्कालिन राजासंग मुकाबिला गर्न पार्टीमा जिम्मेवारीप्राप्त अर्को राजाजस्तै बलवान मान्छे चाहिन्थ्यो त्यसैको रुप हो प्रचण्डपथ ।’

ती नेताका अनुसार प्रचण्डपथ तत्कालिन राज्यसत्ता ढलाउने र जनताको राज्यसत्ता स्थापनाका खातिर प्रचण्डपथ ल्याइएको भएपनि शान्ति प्रक्रियापछि पार्टीले नै विशेष जिम्मेवारी दिएर बनाएको शक्तिशाली प्रचण्ड निरन्तर सक्तिमा रहे । सामन्ती राजा ढलेपनि पार्टी सत्तामा भने प्रचण्ड नै हावी भए । परिणामत त जनयुद्धमा संगै रहेका नेताहरु शान्ति प्रक्रियापछि छिन्नभिन्न रहे ।

हुन त प्रचण्डपथलाई अगाडि बढाउँदा नै डा.बाबुराम भट्टराई, मोहन बैद्य ‘किरण’ले फरक मत राखेका थिए । ती फरकमतलाई बहुमतले लत्याउँदै अगाडि बढेको प्रचण्डपथ लामो समय टिकिरहन सकेन । र बाबुराम र बैद्य पनि अहिले पार्टीमा छैनन् ।

र फेरि प्रचण्डपथमाथि बहस सुरु भएको छ । यसलाई परिस्कृत गरेर अगाडि ल्याउनुपर्छ भन्ने माओवादी केन्द्रका नताहरु प्रचण्डपथलाई मौलिक बिचारको रुपमा समेत ब्याख्या गर्ने गर्दछन् ।