घरघरमै गएर खोप लगाइदिनू: संसदीय समितिले

४ माघ, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसंग ओमिक्रोनका सम्बन्धमा छलफल गरेपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘आवश्यक परे नागरिकलाई घरघरमै गएर कोरोना खोप लगाइदिन सरकारलाई भनेको छ ।

निर्णय सुनाउँदै समिति सभापति जयपुरी घर्तीले भनिन्, ‘कोरोना खोप सबैलाई लगाउनुपर्छ । आवश्यक परे नागरिकहरुलाई घरघरमै गएर लगाउनुपर्छ ।’अपाङ्गता, असाहाय, बृद्धबृद्धा र गर्भवतीलाई भने अनिवार्य रुपमै घरघरमै गएर कोरोना खोप लगाइदिने व्यवस्थाका लागि सभापति घर्तीले निर्देशन जारी गरेकी छन् ।

समितिको निर्देशन अघि समितिको बैठकमा सांसदहरुले गाउँ गाउँमा टोली खटाएर कोरोना खोप लगाइनुपर्ने, अपाङ्गता, असाहाय, बृद्धबृद्धा र गर्भवतीलाई घरमै पुगेर खोप लगाइनुपर्ने बताएका थिए । जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले गाउँ गाउँमा टोली खटाएर कोरोना खोप लगाउने कार्य जारी रहेको बताएका थिए । तर, घर घर जान संभव नरहेको भन्दै तोकिएको केन्द्रसम्म पुग्नुपर्ने बताएका थिए ।

अपाङ्गता, असाहाय, बृद्धबृद्धा र गर्भवती तोकिएको केन्द्रमा पुग्न नसक्ने भन्दै समिति सभापति घर्तीले घरमै पुग्न भनेकी हुन् । यस्तै, समितिले जतिसक्दो छिटो सबै नागरिकलाई खोप लगाउने व्यवस्थाका लागि निर्देशन गरेको छ ।

कोरोना खोप लगाउने ठाउमा हुने भीडभाड कम गर्न केन्द्रको संख्या थप्न र भीडभाड यिन्त्रको जिम्मा स्थानीय तहलाई दिन भनेको छ ।

पिसिआर टेष्ट सकेसम्म निशुल्क नसके न्युनतम मुल्य कायम गर्न पनि समितिले सरकारलाई दिर्नेशन दिएको छ। खोप भण्डार प्रदेश प्रदेशमा गर्न निर्देश्न दिइएको छ ।

नेपाल प्रवेश गर्ने नाकाहरुम कडाइका साथ चेकजाँच नहुँदा नेपालमा कोरोनाको प्रकोप न्युनीकरणमा असहजता भएको भन्दै समितिले ख्याल गर्न सरकारलाई भनेको छ ।